समूहको अन्तिम चरणमा ब्राजिल र पोर्चुगलसहित ८ टिम भिड्दै,          कुन टिमलाई के चाहिन्छ?

Bhugolpark

१० बैशाख, २०८१,०८:१३

समूहको अन्तिम चरणमा ब्राजिल र पोर्चुगलसहित ८ टिम भिड्दै,         कुन टिमलाई के चाहिन्छ?

फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणका अन्तिम खेल हुँदैछन्। समूह ‘जी’ मा ब्राजिल र क्यामरुन तथा सर्विया र स्विट्जरल्यान्ड भिड्दैछन्।

समूहमा ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा छ भने अन्तिम १६ मा पुगिसकेको छ। दोस्रो स्थानको स्विट्जरल्यान्डको ३ अंक छ भने तेस्रो स्थानको क्यामरुन र चौथो स्थानको सर्वियाको १-१ अंक छ।

यता समूह ‘एच’ मा पोर्चुगलविरुद्ध दक्षिण कोरिया तथा घानाविरुद्ध उरुवेबीच खेल हुँदैछ। पोर्चुगल सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर अन्तिम १६ मा पुगिसकेको छ। दोस्रो स्थानको घानाको ३ अंक छ भने तेस्रो स्थानको दक्षिण कोरिया र चौथो स्थानको उरुग्वेको १-१ अंक छ।

अन्तिम १६ मा पुग्न कुन टिमलाई के चाहिन्छ?

 

 

   समूह एच

   दक्षिण कोरिया भर्सेस पोर्चुगल - २ डिसेम्बर, राति ८:४५ बजे

    घाना भर्सेस उरुग्वे - २ डिसेम्बर, राति ८:४५ बजे

पोर्चुगल लगातार दुई जित निकाल्दै अन्तिम १६ मा पुगिसकेको छ। जित वा बराबरीले पोर्चुगल समूह विजेता बन्नेछ। झिनोअन्तरको हारले पनि पोर्चुगल समूह विजेता बन्ने देखिन्छ।

दक्षिण कोरियालाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ। बराबरी वा हारले दक्षिण कोरिया समूह चरणबाटै बाहिरिनेछ। आफ्नो जितले मात्र कोरिया अन्तिम १६ मा पुग्दैन। आफूले जितेको आवस्थामा अर्को खेलमा घाना र उरुग्वेको बराबरीको कामना गर्नु पर्नेछ। यस्तै घानालाई उरुग्वेले हराए पनि जित हात पारेको कोरिया अन्तिम १६ मा पुग्न सक्छ। घानाले जित हात पारेको अवस्थामा भने कोरियालाई जितले पनि पुग्नेछैन।

घानालाई अन्तिम १६ मा पुग्न जित आवश्यक छ। बराबरी भएको अवस्थामा पनि घानाले अन्तिम १६ मा स्थान बनाउन सक्छ। आफूले बराबरी खेल्दा कोरियाको कम अन्तरको जितको कामना गरे घाना अन्तिम १६ मा पुग्न सक्छ। दक्षिण कोरिया पराजित भएको अवस्थामा बराबरी पनि घानालाई पर्याप्त हुन्छ। आफू हार्दा भने घाना अन्तिम १६ मा पुग्न सक्नेछैन।

उरुग्वे गोलअन्तरमा पछि रहे पनि कोरियाकै अवस्थामा छ। उसलाई पनि अन्तिम १६ मा पुग्न जित आवश्यक छ। आफू जितेको आवस्थामा उरुग्वेले कोरियाको हार वा बराबरीको कामना गर्नु पर्नेछ। बराबरी वा हारले उरुग्वे समूह चरणबाट बाहिरिनेछ।

     समूह जी

    सर्विया भर्सेस स्विट्जरल्यान्ड – २ डिसेम्बर, राति १२:४५

     क्यामरुन भर्सेस ब्राजिल – २ डिसेम्बर, राति १२:४५ बजे

ब्राजिल लगातार दुई जितसहित अन्तिम १६ मा पुगिसकेको छ। जित वा बराबरीले ब्राजिल समूह विजेता बन्नेछ। कम अन्तरको हारले पनि ब्राजिल समूह विजेता बन्ने अवस्था छ।

स्विट्जरल्यान्डलाई अन्तिम १६ मा पुग्न जितको आवश्यकता छ। बराबरी वा हारले पनि स्विट्जरल्यान्ड अन्तिम १६ मा पुग्नसक्छ। बराबरी भएको अवस्थामा स्विट्जरल्यान्डले अर्को टिमलाई गोलअन्तरमा पछि पार्नु पर्नेछ भने हारको अवस्थामा अर्को खेल बराबरीमा सकिएको कामना गर्नु पर्नेछ।

क्यामरुन र सर्विया दुवैलाई अन्तिम १६ मा पुग्न जितको आवश्यकता छ। हार वा बराबरीले दुवै टिम बाहिरिनेछन्। जित निकालेको अवस्थामा क्यामरुन र सर्विया दुवैले गोलअन्तरमा अघि रहनु पर्नेछ।



115 Views

Comments