झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल

Bhugolpark

१३ मंसिर, २०७९,०८:२६

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।

झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षभित्रै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी झुलुङ्गे पुल निर्माण सुरु भएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो ।बागलुङ र म्याग्दी जिल्ला जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको छ, खड्काले भन्नुभयो पुल हस्तान्तरणको प्रक्रियामा पुगेका छौँ, पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौँ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडाँैले म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडँुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो । कुडुँलेदेखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ । उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिनुभयो ।

पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दुध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाइ छ । गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माण गर्नका लागि बागलुङतर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ । बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ । बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीयवासी टेकबहादुर रावलले जानकारी दिनुभयो । पुल निर्माणसँगै बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानीय बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक कारोबारका लागि बागलुङ आउने भएकाले सहज हुने भएको छ ।


220 Views

Comments