यी हुन् प्रदेश १ को प्रदेशसभामा पुनः निर्वाचित हुने १३ र पराजित हुने १५ सांसद

Bhugolpark

१३ चैत्र, २०८०,०७:१३

प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आउँदा एमाले एक्लै २१ सिटमा विजयी भइसकेको छ भने अझै ४ वटामा अग्रता कायम राखेको छ । नेपाली कांग्रेस भने हालसम्म १२ वटामा विजयी हुँदा ४ वटामा मात्रै अग्रता लिएको छ ।

उता सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्रले ९ वटामा विजय हासिल गर्दा नेकपा एकीकृत समाजवादीले ३ वटामा जित हासिल गरेको छ । एमाले गठबन्धनमा रहेको राप्रपाले २ वटामा विजय हासिल गरेको छ ।हालसम्म अघिल्लो पटक प्रदेश १ सांसद बनेका १३ सांसदहरुले पुनः प्रदेशसभामा प्रवेश पाउने देखिएको छ । यस्तै १५ जना पूर्व सांसद भने प्रतिस्पर्धाबाट आउट भएका छन् ।

पुनः निर्वाचित हुने १३ सांसद

पुनः प्रदेशसभामा प्रवेश पाउने सांसदहरुमा सबैभन्दा धेरै एमालेका छन् । एमालेका ७ सांसदले पुनः प्रवेश पाउने निश्चित भएको छ । जसमा रामबहादुर राना, इलाम २ (२), हिक्मतकुमार कार्की, झापा ५ (१), एकराज कार्की, झापा २ (१), इन्द्रमणि पराजुली, धनकुटा २, लिलाबल्लभ अधिकारी, मोरङ २ (२), निरन राई, धनकुटा १ र बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु (२) छन् । इलामका राना यसअघि इलाम २ (१)बाट विजयी भएका थिए । यस पटक भने उनले निर्वाचन क्षेत्र परिवर्तन गरी २ (२)बाट विजयी भए ।

अन्य सांसदले अघिल्लै निर्वाचन क्षेत्रबाट चुनाव जितेका हुन् ।

यस्तै नेपाली कांग्रेसबाट प्रदेशसभाको यात्रा तय गर्न लागेका नेता हुन् हिमाल कार्की । कार्की उदयपुर १ (२) बाट मतगणनामा अग्रता कायम गरेका छन् । उनी निर्वाचित हुने निश्चित प्रायः छ ।

यस्तै माओवादी केन्द्रबाट दोहो¥याउनेहरुमा इन्द्रबहादुर आङ्बो पाँचथर (२) बाट र नारायण बहादुर मगर उदयपुर २ (१) बाट छन् । उनीहरुले पनि आफ्नो पुरानै क्षेत्रबाट विजय सुनिश्चित गरेका हुन् ।

यता, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तथा हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई, भोजपुर )१) बाट निर्वाचित भएका छन् । राई यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । यता, इलाम १ (१)बाट निर्वाचित हुने अन्तिम चरणमा रहेकी प्रदेश १ की पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू पनि प्रदेश संसदमा दोहोरिने अर्की नेतृ बन्नेछिन् ।

पराजय व्यहोर्ने प्रदेशका निवर्तमान सांसदहरू

प्रदेश १ को मुख्यमन्त्रीकै चाहना राखेर प्रदेशसभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता राजिव कोइराला यस पटक सुनसरी २ (२)बाट पराजित बने । उनी अघिल्लो संसदमा कांग्रेस संसदीय दलका नेता थिए ।

कोइरालामात्रै होइन, मुख्यमन्त्रीको चाहना राख्ने एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे मोरङ ४ (२)बाट कांग्रेस नेता भीम पराजुलीसँग पराजित भए । निवर्तमान उपसभामुख सरस्वती पोखरेल सुनसरी ३ (१)बाट पराजित बनिन् । उनी अघिल्लो पटक माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै अघिल्लो कार्यकालमा ओखलढुंगा (१) बाट संसदयात्रा तय गर्दै मन्त्रीसमेत बनेका एमाले नेता अम्बिरबाबु गुरुङ यसपटक पराजित बने । यस्तै एमालेबाटै सांसद बनेका उत्तमकुमार बस्नेत साविक निर्वाचन क्षेत्र सोलुखुम्बुको १ बाट पराजित बन्दा प्रदेश १ का यातायात तथा सञ्चारमन्त्री समेत रहेका उपेन्द्र प्रसाद घिमिरे यस पटक पराजित भए ।


52 Views

Comments