भक्तपुर १ मा २०४८ देखि नेमकिपाको एकछत्र सत्ता, यसकारण स्थापित

Bhugolpark

८ बैशाख, २०८१,०५:५५

भक्तपुर १ मा नेमकिपा २०४८ देखि २०७९ सालसम्म अपराजित रहन सफल भएको छ । बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजामा नेमकिपाका प्रेम सुवाल विजयी भएसँगै सो पार्टीको अपराजित यात्रा २०७९ को निर्वाचनमा पनि कायम रहेको हो । 

भक्तपुर–१ बाट २०४८ देखि २०७० सालसम्म अध्यक्ष नारायणमान विजुक्छेले ५ पटक चुनाव जिते । २०७४ सालमा विजुक्छेले पार्टीमा अरू नेतालाई अवसर दिने भन्दै विश्राम लिएपछि नेमकिपाकै सुवाल निर्वाचित भएका । यो चुनावमा समेत उनै सुवाल नेमकिपाको उम्मेदवार बनेर विजयी भएका हुन् ।

भक्तपुर–१ निर्वाचन क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ । गत वैशाख ३० गते भएको स्थानीय चुनावमा पनि भक्तपुर नगरपालिका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको थियो  । कांग्रेस, एमाले र माओवादी लगायत पार्टीले यहाँ नेमकिपाभन्दा निकै कम मत पाएका थिए । 

यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले ९ नम्बर वडा अध्यक्ष मात्रै जितेको थियो । अरु वडामा भने कांग्रेस, एमाले, माओवादीभन्दा निकै कम मत पाएर नेमकिपा पराजित भएको थियो । भक्तपुरको जनमतकै कारण नेकपाले विगतका ६ चुनाव लगातार जित्दै आएको छ । 

धेरैलाई लाग्न सक्छ, यो पार्टी कसरी स्थापित हुन सक्यो ? नेमकिपा किसान आन्दोलनबाट उठेको पार्टी हो । २०२१ सालमा भूमिसुधार लागु भएपछि किसानलाई मोहियानी हक दिलाउन नेमकिपा लागिपरेको थियो । त्यस संघर्षबाट भक्तपुरसहित उपत्यका बाहिर धेरै जिल्लामा नेमकिपाले आफ्नो संगठन विस्तार गरेको थियो । 

किसानलाई मोहियानी हक दिलाउन नेमकिपाका नेता कार्यकर्ताहरु किसानका खेतमा गई बाली काट्ने, भित्र्याउने र किसानलाई जोताहा हक दिलाए । नेमकिपाले गरेको संघर्षबाट भक्तपुरमा झण्डै ५० प्रतिशत किसानले मोहियानी हक पाएको नेता कार्यकर्ता बताउँछन् । त्यसरी मोहियानी हक दिलाउने क्रममा नेमकिपाका नेता कार्यकर्तालाई चोरी, ठगी र लुटपाटको मुद्दा लगाउनुका साथै घाइते र अपाङ्गसमेत बनाएको सुवाल बताउँछन् । यस्तै २०२५–०२६ सालमा भक्तपुरमा नेमकिपाले चलाएको भ्रष्टाचार विरोधी गतिविधिले समेत निकै प्रभाव परेको थियो । किसानको विपक्षमा कृषि सहकारी र  साहु महाजनले जनविरोधी क्रियाकलाप र भ्रष्टाचार गरेको भन्दै संगठनले आन्दोलन गरेको थियो ।

भक्तपुरमा नेमकिपाले संगठन बलियो हुनुमा नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ र सडकको स्तरोन्नति नै हो । ०५८ सालपछि ख्वपः इन्जिनियरिङ कलेज स्थापना भएपछि सर्वसुलभ शुल्कमा इन्जिनियर उत्पादन गर्दै आएको छ । नगरभित्रका सामुदायिक विद्यालय गुणस्तरीय बनाउनुका साथ निःशुल्क बनाएको छ । नर्सिङ कलेज स्थापना भएपछि घरघरमा नर्सहरू गएर सुगर, प्रेसर, गर्भवती र सुत्केरी जाँच गर्दै आएका छन् । नगरपालिकाले ६ शिशु स्याहार केन्द्र, ६ ओभरसियर पढाउने कलेज, ३ जनस्वास्थ्य कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ ।

नगरभित्र पुरानो बस्तीमा नयाँ घर बनाउँदा पुरानो शैली मास्न नपाउने नियम बनाएको छ । नगरभित्र घर बनाउँदा बाहिर देखाउनुपर्ने, अगाडि भागमा झिँगटी लगाउनुपर्ने र काठ देखाउनुपर्ने व्यवस्था छ । पुरानै स्वरूपका घर निर्माणलाई प्रोत्साहन गर्न ३५ प्रतिशत नगरपालिकाले अनुदान दिने व्यवस्था छ । खाद्यान्नमा मिसावट नहोस् भनी नगरपालिकाले दैनिक बजार अनुगमन गर्दै आएको छ । भक्तपुरलाई सरसफाइको नमुना सहरमा विकास गर्दै आएकाले पनि नेमकिपा अरु पार्टीभन्दा बलियो छ ।


78 Views

Comments