४ पूर्वप्रधानमन्त्री : कसको अवस्था के छ ?

Bhugolpark

६ मंसिर, २०७९,०६:४०

मंगलबारसम्म प्रतिनिधिसभातर्फ ४ क्षेत्रको नतिजा आइसकेको छ । जसमध्ये कांग्रेसले ३ ठाउँमा जित हात पारेको छ भने एमालेले १ ठाउँमा जित हात पारेको  । त्यस्तै प्रदेशसभातर्फ कांग्रेसले ४ र एमालेले १ ठाउँमा जित हात पारेको छ  

प्रतिनिधिसभातर्फ अहिलेसम्मको गणनाअनुसार कांग्रेस ४८, एमाले ३८, माओवादी १२, राष्ट्रिय स्वतन्त्र पार्टी ११ र नेकपा एस ७ ठाउँमा अगाडि रहेका छन् । यसपटकको चुनावमा बहालवाला प्रधानमन्त्रीसहित ४ जना पूर्वप्रधानमन्त्रीहरू पनि प्रतिस्पर्धामा रहेका छन् 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट ६८८० मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ३६६६ मत प्राप्त गरेका छन् ।त्यसैगरी एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रता बढाउँदै लगेका छन् । ओलीले ८९७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ५४४८ मत ल्याएका छन् ।त्यस्तै गरी अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नम्बर २ बाट अग्रता बनाइरहेका छन् । यसअघि चितवन-३ बाट निर्वाचित दाहालले गोरखा २ मा ४८३२ मतसहित अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १४२४ मत ल्याएका छन् । गोरखा २ मा एमाले उम्मेदवार तेस्रो स्थानमा रहेका छन् । उनले ११७६ मत ल्याएका छन् 

त्यस्तै नेकपा एसका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल पनि रौतहट-१ बाट अगाडि छन् । उनले ५४४५ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार अजयकुमार गुप्ताले ४८७३ मत ल्याएका छन् 

त्यसैगरी नेकपा एसका 'सम्मानित नेता' झलनाथ खनाल भने इलाम १ मा पछाडि छन् । उनलाई एमाले उम्मेदवार महेश बस्नेतले उछिनेका छन् । बस्नेतले ५६२६ मत ल्याउँदा खनालले ४८५० मत ल्याएका छन् । यसपटक पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई भने चुनावी प्रतिस्पर्धामा छैनन् 


122 Views

Comments