घण्टी चिह्नले अप्रत्याशित भोट पाउने आँकलन, केही ‘हेवी ओइट’नेताले चुनाव हार्न सक्ने

Bhugolpark

१२ चैत्र, २०८०,०६:१०

राप्रपाको पनि साइज बढ्ने कांग्रेस पहिलो पार्टी हुने संकेत, एमालेलाई धक्का लाग्ने आँकलन

काठमाडौं- चुनावपछि आएका आँकलनहरूले केही महिनाअघि मात्र बनेको पूर्वसञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी अप्रत्याशित नतिजा ल्याई राष्ट्रिय पार्टी हुने देखाएको छ । 

 

चुनावमा भोट खसालेर आएका मतदाताका आधारमा विभिन्न सञ्चारमाध्यमले दिएको विवरणमा रविको घण्टी चिह्न पार्टीले प्रत्यक्षमा दशवटा स्थानमा जित्न सक्ने र समानुपातिकमा झन्डै २० लाखको हाराहारीमा मत पाउने देखाएको छ । चितवन क्षेत्र  नं  २ मा रवि लामिछानेको जित पक्काजस्तै रहेको आँकलन गरिएको छ । 

 

तर, उक्त पार्टी निकटहरूले सार्वजनिक गरेको विवरणमा भने प्रत्यक्षमा करिब १० स्थान र समानुपातिक जोड्दा झन्डै ४० जना सांसद चुनिने दाबी गरेका छन् । 

 

विभिन्न अनलाइन न्युज मिडियाहरूले नेपाली कांग्रेसले प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र ठूलो पार्टी बन्ने अनुमान गरेका छन् । यस पटक सबैभन्दा धेरै नोक्सान केपी ओली नेतृत्वको एमालेलाई हुने देखिएको छ । 

 

ओलीले सरकार र पार्टीभित्र देखाएको  एकल महत्वाकांक्षा र निर्णयलाई एमाले समर्थकहरूले समेत नरुचाएको संकेत यो निर्वाचनले दिने देखिएको छ । यस चुनावमा ओलीले आफ्नो विरोध गर्ने भीम रावल, घनश्याम भुसाललगायतलाई चुनावमा पार्टीको टिकटसमेत दिएका थिएनन् । पार्टी महाधिवेशनमा पनि ओलीले एकलौटी रुपमा नेतृत्व चयन गरेका थिए । चुनावमा पनि ओलीको मात्र प्रचार गरिएको थियो । ओलीलाई यो भारी पर्ने भएको छ । 

 

कांग्रेस ठूलो पार्टी भए पनि गठबन्धनले बहुमत ल्याउँछ भन्नेमा आशंका छ । प्रत्यक्षमा केही बढी सिट ल्याए पनि समानुपातिकतर्फको कांग्रेसको परम्परागत मत रविको पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले लैजाने देखिएको छ । यसले गर्दा सत्तारुढ गठबन्धन १३८ को म्याजिक नम्बर पुर्याउनबाट वञ्चित हुने संकेत देखिएको छ । कांग्रेसले शेरबहादुर देउवाबाहेक पार्टीभित्रकै गगन थापा वा डा. शेखर कोइरालालाई वा अन्यलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर गएको भए अझ बढी सिट ल्याउने थियो । शेरबहादुर देउवाको वृद्ध उमेर, विगतको असफलताले कांग्रेसका हजारौं परम्परागत मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपातिर आकर्षित भएको देखिएको छ । 

 

गगन थापा, डा. शेखर कोइराला, विनोद चौधरीलगायतका कांग्रेस उम्मेदवारले सहज जित हासिल गर्ने आँकलन छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका कृष्ण सिटौलालगायत पम्फा भुसाल, उपेन्द्र यादवले जित निकाल्न नसक्ने आँकलनले देखाएको छ ।

 

केपी ओली भने जित नजिक छन् । 

प्रधानमन्त्रीसँग प्रतिस्पर्धा गरेका युवा सागर ढकाल चुनावअघि सामाजिक सञ्जालमा निकै चर्चामा थिए । उनले कति मत ल्याउँछन् भन्ने बारेमा कुनै पनि मिडियाले आँकलन गरेका छैनन् । सागरले जितेमा नेपालको राजनीतिमा तहल्का भने मच्चिने छ । यसबाहेक केही स्थानमा अप्रत्याशित नतिजा आउनेछ । 

 

यस पटक चुनावमा करिब १ करोड ८० लाख मतदाता थिए । यसमध्ये  करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । कयौं विदेशमा भएकाले पनि कम मत खसेको हो । यस पटक स्थानीय चुनावभन्दा पनि कम मत खसेको छ । काठमाडौंलगायत सहरी क्षेत्रमा केही कम मत खसेको छ । यस आधारमा समानुपातिकमा करिब ८० हजार भोट बराबर एक सिट कायम हुने देखिन्छ ।

 

झडप र विविध समस्याका कारण १५ स्थानमा मतदान स्थगित गरिएको छ । चुनाव सम्पन्न भएका क्षेत्रबाट मतपेटिका धमाधम गणनास्थलमा ल्याइएको छ । सोमबार बिहानबाट अधिकांश स्थानमा मतगणना सुरु हुने बताइएको छ ।


91 Views

Comments