चुनाव प्रचारको आज अन्तिम दिन, शीर्ष नेताहरू को कहाँ गर्दैछन् भाषण ?

Bhugolpark

१० बैशाख, २०८१,०६:३६

आज रातिदेखि नै मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलहरू चुनावी सभालाई समापन गर्ने अन्तिम कसरतमा छन् । दलका शीर्ष नेताहरू आज पनि सभामार्फत मतदातालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन् भने उम्मदवारहरू घरदैलोमै केन्द्रित छन् ।

चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

त्यसैगरी सुदुरपश्चिममा रहेका प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाले पनि  सुदुरपश्चिमका दुईवटा चुनावीसभामा सहभागिता जनाउने भएका छन् । उनले आज अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ

यता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापाले  काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।  त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । 


108 Views

Comments