चौथो जित निकाल्ने दाउमा पौडेल, चुनौती दिदै थापा

Bhugolpark

२९ कार्तिक, २०७९,०९:२७

अघिल्लो जित र आफूले गरेका कामको आधार देखाउँदै पौडेल, गठबन्धनको साथ र आफ्नै पार्टीको मत बढेको थापाको दाबी

बुटवलरुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल  लगातार चौथो पटक जित निकाल्ने दाउसहित चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको उमेदवारी खारेजीपछि चुनावी दौडमा केही दिन पौडेल एक्लै थिए  नेकपा एसका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेपछि भने चुनावी माहोल केही फेरिएको छ  लगातार तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका पौडेललाई जनमुक्तिका कार्यकारी अध्यक्ष केशवबहादुर थापा टक्कर दिने प्रयासमा छन् 

एमाले उम्मेदवार पौडेल आफूले गरेका विकासको प्रभाव सोध्दै र आगामी विकास योजना सुनाउँदै मतदातालाई रिझाइरहेका छन् । ‘मैले को–को उम्मेदवार छन् ? उनीहरू के भन्छन् ? के गर्छन् ? कसको समर्थन कसलाई छ ? कसलाई छैन ? त्यसबारे वास्ता गरेको छैन,’ पौडेलले भने, ‘आफूले गरेका विकासका कामको प्रभाव सोध्दै र आगामी दिनमा के गर्न सकिन्छ भन्दै एमाले र मेरा लागि भोट माग्दै हिँडेको छु ।’थापा पनि सत्ता गठबन्धनको समर्थन पाएपछि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । संयुक्त चुनावी योजनासहित पाँचदलीय गठबन्धनसहित उनी पनि मत माग्न घरदैलोमा व्यस्त छन् 

बुटवलका स्थायी बासिन्दा भए पनि थापा संसदीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । गठबन्धनको समर्थन जुटाएर एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई पराजित गर्ने उनको दाबी छ । ‘सत्ता गठबन्धनका सबै मत जनमुक्तिलाई आउने हो भने जितिन्छ,’ उनले भने, ‘त्यसैमाथि हाम्रो भोट पनि ८ देखि १० हजार मत थपिएका छन् ।’ रुपन्देही २ बाट चुनाव जितेर गोरेबहादुर खपांगीले स्थापना गरेको पार्टीलाई पहिलोपटक प्रत्यक्षबाट संसद्मा पुर्‍याउने उनको धोको छ 

रुपन्देही–२ मा स्थानीय तहका २३ वडा छन् । जसमा, बुटवल उपमहानगरपालिका १ देखि १३, सैनामैना नगरपालिकाको नम्बर १ देखि ४ र तिलोत्तमा नगरपालिकाको १ देखि ६ वडा गरी २३ वडा पर्छन् । स्थानीय तह निर्वाचनमा यी तीनवटै स्थानीय तहमा प्रमुख नेपाली कांग्रेसले जितेको छ । वडाध्यक्षको मतभारमा भने नेपाली कांग्रेसले ३४ हजार ९ सय ५९ र एमालेले ३३ हजार १ सय ८७ मत पाएका थिए । यस्तै राप्रपाले ३ हजार ९ सय २०, माओवादी केन्द्रले ३ हजार ८८ र एकृकीत समाजवादीले १ हजार ३ सय ८२ र जनमुक्तिले २ हजार ७० मत ल्याएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेले बुटवलमा जनमुक्तिलाई केही वडा सदस्य दिएर तालमेल गरेको थियो । यस हिसाबले अब सत्ता गठबन्धनतर्फ ४१ हजार ९ सय ९९ मत भएको छ । एमालेतर्फ ३७ हजार १ सय ७ मत छ 

एमाले उम्मेदवार पौडेल भने स्थानीय तहको चुनावको हिसाबकिताब प्रतिनिधिसभामा लागू नहुने बताउँछन् । ‘यस क्षेत्रको विकास र समस्याको निकासका लागि मलाई साझा नेताका रूपमा यस क्षेत्रका मतदाताले मेरा लागि मतदान गरिरहनु भएको छ । यस्तो क्रम अहिले अझ बढ्नेछ,’ उनले भने  पौडेल आफ्नो दलसहित अन्य लोकप्रिय मत ल्याउनेमा ढुक्क छन् । जनमुक्तिका थापा भने पौडेलले विकासका ठूला योजना ल्याए पनि एमाले संघको अधिकार तल्लो तहमा ल्याउनेमा उदार नदेखिएकाले यसपालि पौडेलका व्यक्तिगत मत काटिने दाबी गर्छन् । ‘मतभार र लोकप्रियता हामीतिर धेरै छ । एमाले पार्टी र नेतासित मतदाता रुष्ट भएकाले यसपालि हामीलाई मतदान गर्नेछन्,’ थापाले दाबी गरे 

पटक–पटक चुनाव जितेर मन्त्री बनेका पौडेललाई टक्कर दिन सत्ता गठबन्धनले उनकै पूर्वकार्यकर्ता राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । एकीकृत समाजवादीका उम्मेदवार गुरुङसँग प्रतिस्पर्धा गर्दा पौडेलाई केही चुनौती हुने धेरैको आकलन थियो । कालोसूचीमा परेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो 

रुपन्देही–२ मा अहिले पौडेलसहित १४ उम्मेदवार मैदानमा छन् । पछिल्लो साता पौडेल तिनाउ नदीको किनार र विपन्न बस्तीलाई केन्द्रमा राखेर चुनावी प्रचारमा खटेका छन् । ‘यस क्षेत्रका मतदाताले जिताएर पठाउनुभयो । अर्थमन्त्री र उपप्रधानमन्त्रीसम्म बनें । मेरो बलबुताले भ्याएसम्म विकासका योजना ल्याएर देशमै बढी बजेट पर्ने जिल्ला बनाएा,’ पौडेलले भने, ‘भोट माग्न मात्र हैन । मैले ल्याएका विकास योजनाको प्रभाव कस्तो छ ? यसबाट नागरिकको जीवनस्तर फेरिएको छ छैन मापनका लागि पनि घरबस्तीमा पुगेको हुँ ।’

२०५१ सालदेखि नै संसदीय चुनाबमा प्रतिश्पर्धा गर्दै आएका एमाले उपाध्यक्ष पौडेल पहिलो पटक पाल्पाबाट प्रतिनिधिसभामा पुगेका थिए । रुपन्देहीबाट २०५६, ०६४, ०७० र ०७४ मा उम्मेदबार बनेका उनले ०५६ बाहेक सबै चुनाव जितेका छन् । पौडेललाई चुनौती दिन २०७० मा तत्कालीन माओवादी नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई यहाँ आए पनि पराजित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेल ४४ हजार ९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । उनको मतान्तर २२ हजार ६३ रहेको थियो 

रुपन्देही २ मा १ लाख २६ हजार ८ सय ७ मतदाता छन् । पौडेल र थापा दुवैको साझा भनाइ छ, ‘मतदाता निर्णायक हुन् । कसको हातमा नेतृत्व दिँदा आफूहरूको भविष्य सुरक्षित हुन्छ भन्नेमा मतदाता नै निर्णय गर्नेछन् ।’


164 Views

Comments