युवालाई आफ्नै गाउँ–ठाउँमा रोजगारीको अवसर दिन्छौँः वाम–लोकतान्त्रिक गठबन्धन

Bhugolpark

२६ कार्तिक, २०७९,०७:२३

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले युवालाई आफ्नै गाउँ–ठाउँमा रोजगारीको अवसर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का साझा उम्मेदवारले युवालाई विभिन्न विधामा तालिम दिएर आफ्नै गाउँ–ठाउँमा रोजगारको अवसर दिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । विदेशमा रोजगार गरिरहेका युवाका परिवारलाई आवश्यक वित्तीय परामर्श दिने र विदेशबाट फर्केका युवालाई आवश्यक तालिम, परामर्श तथा रोजगारको अवसर प्रदान गरी माछापालन, बाख्रापालान, मौरीपालन, सँगुरपालन आदिमा स्वरोजगार बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ।

बेरोजगार रहेका युवालाई आयआर्जनमा लगाई आर्थिकरूपले सबल बनाउन युवा लगानी कोष खडा गरेर व्यवसायमा लगानी गर्न आर्थिक अनुदान वा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, जिल्लामा कम्तीमा एउटा औद्योगिक ग्राम सञ्चालन गरी युवालाई रोजगार बनाउनेलगायत बुँदाहरू प्रतिबद्धतापत्रमा समेटिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘२’मा कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तीनैजना उम्मेदवार यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त छन् । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं पूर्व सांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रनुभएको छ । प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।


101 Views

Comments