मध्यवर्तीका मतदाताले उम्मेदवारलाईं प्रश्न : वन्यजन्तुको त्रास कहिलेसम्म ?

Bhugolpark

२३ कार्तिक, २०७९,०५:५९

भरतपुर, २३ कात्तिक (रासस) : आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ।

उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन्।भोट माग्दै हिँड्ने उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका मतदाताले भने वन्यजन्तुका समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । मङ्गलबार भोट माग्दै भरतपुरका विभिन्न क्षेत्र पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी समक्ष नागरिकले स्थानीय समस्याबारे गुनासो गरे। गोब्रेनीका स्थानीय सीतामान तामाङले भन्नुभयो, “बँदेलले खेती खायो, गैँडा, चित्रीले पनि हैरान बनायो, तार लगाउनपर्छ, डा सावले पहल गरिदिनुहोला । उहाँले नारायणी तटबन्धलाई कार्यान्वयन गरेर बाढीको समस्या समाधान गरिदिनसमेत आग्रह गर्नुभयो । स्थानीय ज्योति रानाले निकुञ्जमा पक्की तारबार लगाउने कामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । गुनासो तपाईहरूलाई नै गर्ने हो, उहाँले भन्नुभयो, “जनतालाई अलि ध्यान दिन प¥यो । अर्का स्थानीय प्रकाश खड्काले हरेक निर्वाचनमा आश्वासन पाएको तर ाम नभएको गुनसो गर्नुभयो । यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन, उहाँले भन्नुभयो।

गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका डा अधिकारीले जनताको आवश्यकताअनुसारकै काम गर्ने बताउनुभयो । उहाँले चितवनमा निकुञ्ज र सामुदायिक वन क्षेत्रबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि निर्वाचित भएपछि काम गर्ने बताउनुभयो।

चितवनको माडी नगरपालिकामा घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवारी दिनुभएका दिनेश कोइरालालाई पनि स्थानीयले वन्यजन्तुबाट हुने धनजनको क्षति कम गर्न के गर्न सक्नुहुन्छ भनेर प्रश्न गरे । जवाफमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पक्की वालसहितको तारबार लगाउने बताउनुभयो । माडीको धोवाहामा वन्यजन्तुले हरेक वर्ष बाली खाने गरेको स्थानीय राकेश चौधरीले कोइरालालाई गुनासो गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सबैभन्दा बढी धनजनको क्षति माडीभित्र नै गर्ने गरेको छ। निकुञ्जले घेरेको माडीका मतदाताको उम्मेदवारसँग पहिलो अपेक्षा नै वन्यजन्तुको त्रासबाट मुक्त हुन पाउँ भन्ने छ । चितवनको माडी वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको गुनासो सेरुवाकी किसान गीता महतोले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेलाई घरदैलोका क्रममा गर्नुभयो । उहाँले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यस वर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो।

पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेले आफू माडीको दीर्घकालीन विकासको पक्षमा रहेको भन्दै रिउ करिडोर निर्माण गरेर वन्यजन्तुको समस्या समाधान गर्ने योजनामा रहेको सुनाउनुभयो । यसरी घरदैलोका क्रममा मत माग्न आउने सबै उम्मेदवारलाई यस क्षेत्रका बासिन्दाले वन्यजन्तुको त्रास कहिलेसम्म भोग्नुपर्ने हो भनेर प्रश्न गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि उम्मेदवारले निर्वाचित भएपछि पहिलो प्रथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सबै मध्यवर्ती क्षेत्रमा पक्की वालसहितको तारबार लगाउन सके धनजनको क्षति कम हुने बताउनुभयो । उहाँले निकुञ्जले प्रदान गर्ने क्षतिपूर्ति पनि कम र झन्झटिलो रहेको भन्दै मध्यवर्तीका नागरिकलाई जीविकोपार्जन र आयआर्जनमा जोड्नुपर्ने बताउनुभयो । चुनाव आउन अब केही दिन बाँकी हुँदा राजनीतिक दलहरुले चुनाव प्रचारप्रसार र घरदैलोलाई तीव्र बनाएका छन् । गाउँ केन्द्रित भएका राजनीतिक दलका नेता र उम्मेदवारले जनताका गुनासा सुन्ने तथा आफ्ना प्रतिबद्धता सुनाउँदै भोट माग्ने गरिरहे पनि जनता भने राजनीतिक दलका नेताको विगतलाई अब नदोहो¥याउन आग्रह गरिरहेका भेटिन्छन् ।


171 Views

Comments