२० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् ।
बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने कुरा आफूले सुनेको भन्दै बालेनसमक्ष चिन्ता प्रकट गरेका छन् ।
जसको जवाफमा बालेनले सुकुमवासीको ज्यान जोगाउन डोजर चलाएको दाबी गरेका छन् । ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त,’ सुकुमवासी समुदायको जिज्ञासामा बालेनले भनेका छन्,‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सेफ(सुरक्षित) ठाउँमा राख्नुपर्यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’
तर झापाका सुकुमवासी वास्तविक रहेको बालेनले बताए । ‘यहाँको त रियल हो नि त । ४०–५० वर्षदेखि बसेको,’ बालेनले अगाडि भनेका छन् ।बालेनसँगै सुकुमवासी बस्तीमा पुगेका उनका सल्लाहकार कुमान व्यञ्जनकार(कुमार वेन)ले २०४८ देखियता २३ वटा आयोग बन्दा पनि सुकुमवासीको समस्या समाधान नभएको बताए ।
त्यसपछि एक सुकुमवासीले आफ्नो गुनासो सुनाएका थिए । ‘लगत उठाउँदै जान्छन्, कर लैजान्छन् । अस्ती नै पनि आयोगले सबै लगेको छ । तर, अहिलेसम्म केही भएको छैन,’ ती सुकुमवासीले भने ।
भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुमवासीले लालपूर्जा नपाउने समस्या देखिएकाले त्यसो नहोस् भन्ने आफूले चाहेको बालेनले बताए ।
Comments