काठमाडौं–६ : विरासत जोगाउने दौडमा रास्वपा, फर्काउने कसरतमा कांग्रेस

Bhugolpark

१८ माघ, २०८२,१०:४४

काठमाडौं । ‘जसले गठबन्धन गर्‍यो, उसैले हार्‍यो’को पहिचान बनायो, विगत दुई निर्वाचनमा काठमाडौं–६ ले ।

यो क्षेत्रमा ०७४ मा एमाले–माओवादीबीच गठबन्धन बन्यो । उमेदवार बने, झक्कु सुवेदी । उनलाई पराजित गर्दै नेपाली कांग्रेसका भिमसेनदास प्रधान निर्वाचित भए ।

प्रधानले १६ हजार ७८५ मतसहित सांसद बने, गठबन्धनका सुवेदी १५ हजार ४८५ मत पाउँदै प्रतिद्वन्द्वीमा सीमित भए । तेस्रो बनेको विवेकशील साझा पार्टीका रमेश चिलुवालले चार हजार २२५ मत पाए ।

२०७९ मा चुनावी परिदृश्य बदलियो, प्रधान तेस्रो स्थानमा पुगे । जतिखेर कांग्रेस–माओवादी गठबन्धनमा थिए । गठबन्धनविरुद्धको मत समेट्दै वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भए । एमाले दोस्रो स्थानमा रह्यो ।

खनाल १४ हजार २२१ मतसहित निर्वाचित हुँदा एमालेका सर्वेन्द्र खनाल ८ हजार ९१७ मतसहित दोस्रो भए । गठबन्धनका उमेदवार कांग्रेसका प्रधानले ८ हजार ८१२ मत मात्र पाए । ०७९ मा राप्रपाका विष्णुप्रसाद आचार्यले दुई हजार १८५ मत पाएका थिए ।

काठमाडौं–६ मा रास्वपाले उनै शिशिर खनाललाई दोहोर्‍याएको छ । उता, कांग्रेस र एमालेले पात्र बदलेका छन् । कांग्रेसले कृष्ण (सबुज) बानियाँलाई उमेदवार बनाएको छ । उनी कांग्रेस काठमाडौं जिल्ला सभापति हुन् ।

एमालेले अमनकुमार मास्केलाई उमेदवार बनाएको छ । उनी प्रदेशसभा सदस्य थिए, एमालेले वाग्मती प्रदेशसभाबाट राजीनामा गराउँदै उमेदवार बनाएको हो ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले हेमलाल शर्मा, राप्रपाले उद्धवराज भेटवाल, नेमकिपाले इन्द्रकुमारी बज्राचार्य, राष्ट्रिय जनमोर्चाले जगतप्रसाद रेग्मी, प्रगतिशील लोकतान्त्रिक पार्टीले गिरिराज अर्यालसहित २० जना उमेदवार छन् ।

०७० देखि तोडिएको थियो कम्युनिष्ट किल्ला

पहिलो संविधानसभा चुनावअघि निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनबाट अस्तित्वमा आएको थियो, काठमाडौं–६ । शान्ति प्रक्रियाबाट मूलधारको राजनीतिमा प्रवेश गरेसँगै काठमाडौं–६ मा माओवादीका हितमान शाक्य निर्वाचित भए ।

शाक्य १० हजार ६७८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका भिमसेनदास प्रधानले १० हजार ५८ मतसहित प्रतिद्वन्द्वीमा सीमित भए । एमालेका योगेश भट्टराई ९ हजार ८९ मतसहित तेस्रो स्थानमा रहे ।

२०७० को दोस्रो संविधानसभा चुनावमा यो क्षेत्रमा कांग्रेस विजयी भएको थियो । कांग्रेसका भिमसेन प्रधानले १४ हजार १५१ मत ल्याएर निर्वाचित हुँदा एमालेका भट्टराई १२ हजार ८७४ मतसहित दोस्रो भएका थिए ।

एकीकृत नेकपा माओवादीका हेमलाल शर्माले ५ हजार ९४५ मत मात्र पाएर तेस्रो भएका थिए ।

कम्युनिष्ट किल्ला काठमाडौं

जब मुलुक निरंकुश पञ्चायती व्यवस्था फाल्दै संसदीय राजनीतिमा प्रवेश गर्‍यो, सँगै काठमाडौं कम्युनिष्ट किल्लामा परिणत हुन पुग्यो । २०४८ सालको चुनावमा कांग्रेसले एक क्षेत्रमामात्रै विजय हासिल गरेको थियो । काठमाडौं–२ मा कांग्रेसका दमनाथ ढुंगाना मात्र सांसद बने, अरुमा एमाले ।

हालको काठमाडौं–६ समेत पर्ने क्षेत्रमा एमालेकी सहाना प्रधान निर्वाचित भएकी थिइन् । उनले १८ हजार ४६६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका दामोदर गौतमले १० हजार ६१५ मत ल्याएका थिए ।

२०५६ मा काठमाडौं–६ को हालको क्षेत्रसमेत समेटिएको क्षेत्रबाट एमालेकी अष्टलक्ष्मी शाक्य निर्वाचित भएइन् । उनले १६ हजार ३०७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मार्शलजुलुम शाक्यले १४ हजार १०७ मत पाएर दोस्रो भएका थिए ।




101 Views

Comments