मोरङ–६ : शेखर–विनोदलाई टक्कर दिँदै जेनजी उमेदवार

Bhugolpark

७ माघ, २०८२,१२:१४

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘हेभीवेट’ उमेदवारका कारण यसपटक पनि चर्चामा छ । केही अघिसम्म पनि कांग्रेसजन नेता डा. शेखर कोइराला उमेदवार बन्ने हुन वा होइनन् भन्ने द्विविधामा थिए । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले प्रारम्भिक उमेदवार सूची सार्वजनिक गर्दा यो क्षेत्र खाली थियो । एमालेका विनोद ढकाललाई ‘होल्ड’मा राखिएको थियो । तर, दुवै नेता अन्ततः यही क्षेत्रमा चुनाव लड्न मनोनयन दर्ता गराएका छन् ।

आआफ्ना पार्टीमा दुवै राजनीतिक खेलाडी र पार्टीमा उस्तै पकड बनाएका नेता मानिन्छन् । शेखर विशेष महाधिवेशनमा खुलेनन् । तर अन्तिममा गगन थापासँग टिकट लिएर चुनाव लड्न आए । विनोद अध्यक्ष ओलीको इतर समूहबाट केन्द्रीय महाधिवेशनमा सचिव पदमा उठे ।

यिनै पुराना र राजनीतिमा जरा गाडेका उमेदवारलाई यसपटक मोरङ–६ मा २५ वर्षीय जेनजी उमेदवार राम खत्रीले टक्कर दिँदै छन् । भोजपुर घर भई विराटनगरमा बस्दै आएका खत्री मोरङमा कान्छा उमेदवार हुन् । राजनीतिमा भर्खरै उदाउँदै गरेका र जेनजी मुभमेन्टपछि चर्चामा आएका उनी द काउन्सिल अफ जेनजी मोरङका संयोजक पनि हुन् ।

खत्री भन्छन्, “जेनजी आन्दोलनपछि देशले नयाँपन र परिवर्तन खोजेको छ । हाम्रा मुद्दालाई नीतिगत रूपमै लागू गराउन यसपटक चुनावमा उठेको हुँ ।”

पुराना र परम्परागत दलका पाका उमेदवार धेरै पटक परीक्षण भइसक्दासमेत खासै परिवर्तन अनि परिणाम नआएको उनले बताए ।

खत्री सरसफाइ र वातावरणसम्बन्धी अभियानमा समेत क्रियाशील छन् । पत्रकारसमेत रहेका उनी भन्छन्, “समाजले परिवर्तन खोजेको छ । जेनजी आन्दोलनको म्यान्डेड पनि त्यही थियो । राजनीति र प्रशासनिक क्षेत्रमा भएको धुलोमैलो सफा गर्ने उद्देश्यले नै म राजनीतिमा सक्रिय हुन लागेको हुँ ।”

खत्रीले युवा र पुरानाबाट दिक्क भएका मतदाताले आफूलाई समर्थन गर्ने अपेक्षा रहेको सुनाए ।

मोरङ–६ मा अघिल्लो पटक कांग्रेसका शेखर कोइराला विजयी भएका थिए । उनले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए ।


64 Views

Comments