तरलता अधिक भएपछि थप २० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Bhugolpark

२२ पुष, २०८२,११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । 

राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । 

यसको बोलकबोल मंगलबार (पुस २३) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । 

राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । 

यसको सावाँ आगामी २०८३ पुस २३ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । 

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 

ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । 

तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ । 

ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ । 

यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो ।

त्यस्तै, पुस १६ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ निष्कासन गरेको थियो ।

त्यस्तै, पुस २० मा २५ अर्बकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ र पुस २२ मा २५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरेको थियो । 



79 Views

Comments