संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल

Bhugolpark

२१ पुष, २०८२,११:५४

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ ।

पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिए ।

‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो । अहिले जुन किसिमको विशेष गर्ने र नगर्ने बीचको टसल आएको छ, त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्ने बारे छलफल गरिरहेका छौं’, उनले भने ।

नेता शेर्पाले विवाद समाधानको मोडालिटीबारे पनि छलफल चलिरहेको बताए । तर, उनले मोडालिटीबारे विस्तृत बताउन चाहेनन् । ‘मोडालिटीबारे अहिले त नभनौं । दुई–तीनवटा मोडालिटी आएको छ’, शेर्पाले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । ठोस रूपमा आइसकेपछि हामी भन्छौं । अहिले छलफलमै छौं ।’

मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास आफूहरूको रहेको शेर्पाको भनाइ छ ।

‘मोडालिटीका बारेमा छलफल भइराखेको छ । मोडालिटी तयार गरिसकेपछि हामी सभापतिजी, कार्यवाहक सभापति र महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधरसँग राखेर एउटा निष्कर्षमा पुग्ने कोसिस गरिरहेका छौं’, उनले भने ।

सभापति देउवालाई १८ पुसमा भेटेको उक्त समूहले सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो । २५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।


86 Views

Comments