कांग्रेस र एमालेकै समानुपातिक सूचीमा त्रुटि, आयोगले गर्‍यो पत्राचार

Bhugolpark

२० पुष, २०८२,१२:२०

२१ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ ।

आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको कलस्टर प्रतिशत हेरिएको छ । जसअन्तर्गत एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको फेला परेका छन् । एउटा कलस्टरमा हुनुपर्ने व्यक्तिको नाम अर्को कलस्टरमा रहेको जस्ता त्रुटि रहेका छन् । यस्ता त्रुटि नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत फेला परेका छन् ।

कुनै दलले बुझाएको सूचीमा केही उम्मेदवारको हस्ताक्षर छैन । निर्वाचन आयोगका अनुसार पिछडिएको क्षेत्र भनेर नाम राखेका व्यक्तिहरूको नागरिकता हेर्नुपर्ने भएको छ ।

यी लगायतका विवरण प्रष्ट गर्न र नमिलेका विषय मिलाउन आयोगले दलहरूलाई इमेल गरेको हो ।

यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।

आयोगका सूचना अधिकारी घिमिरेका अनुसार आजदेखि दलहरूले यही पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सच्याउन सक्नेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।

आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि माघ ५ गतेदेखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ गतेदेखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते बिहान १० बजेदेखि वेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

आगामी फागुन २१ गते मतदान हुनेछ ।

 

 


72 Views

Comments