नेपाललाई ‘युक्रेन’ बनाउन खोजिएको झलनाथ खनालको आशंका, राष्ट्रिय एकताको आह्वान

Bhugolpark

१६ पुष, २०८२,०९:३६

नेपाललाई ‘युक्रेन’ बनाउन खोजिएको झलनाथ खनालको आशंका, राष्ट्रिय एकताको आह्वान

१७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गर्दै समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको आरोप लगाएका हुन् । विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको उनको भनाइ छ ।

शुभकामना सन्देशमा खनालले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई “युक्रेन” बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’

उनले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै पश्चिमी शक्तिको प्रभुत्वमा रहेको पुरानो विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था क्रमश: निर्माण भइरहेको दाबी गरेका छन् । यही विश्व ऐतिहासिक प्रक्रियाको असर नेपालमा पनि परेको भन्दै देश गहिरो सामाजिक–आर्थिक संकटबाट गुज्रिरहेको खनालको भनाइ छ ।

शुभकामना सन्देशमा खनालले देशमा दीर्घकालीन दिशाहीनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको पलायनका कारण संकट चुलिँदै गएको उल्लेख गरेका छन् । गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’को नाममा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई थप महासंकटतर्फ धकेलेको उनले बताएका छन् ।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै खनालले संविधान मिचेर भए पनि नयाँ सरकार बनेको र प्रतिनिधिसभा निर्वाचनको घोषणा भएको बताए । निर्वाचन अपरिहार्य भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको उनको ठम्याइ छ ।

उनले निर्वाचनसँगै संविधान परिमार्जन, सामाजिक–आर्थिक संरचनामा रूपान्तरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, राष्ट्रियता सुदृढीकरण, परराष्ट्र नीति सन्तुलन, सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र युवाका लागि रोजगारी सिर्जना जस्ता मुद्दा एकैसाथ समाधान गर्नुपर्नेमा जोड दिए ।

यी कार्यभार पूरा गर्न व्यापक राष्ट्रिय एकता आवश्यक रहेको भन्दै खनालले १७ वटा वाम समूहलाई एकताबद्ध गरेर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी पनि दिए । चार आधारभूत सिद्धान्तका आधारमा सबै वाम र कम्युनिष्ट शक्तिलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गराउने लक्ष्य लिइएको उनको भनाइ छ ।

नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउन सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने खनालको आह्वान छ ।


66 Views

Comments