९ मंसिर, चितवन । सडक दुर्घटना बढ्दो मानवीय क्षतिको कारण बन्ने गरेको छ । दुर्घटनामा परेर अंगभंग हुनेदेखि ज्यानै गुमाउनेसम्मका घटना बढिरहेका छन् ।
पूर्वपश्चिम राजमार्गको एक प्रमुख र व्यस्त सडकखण्ड चितवनमा पर्ने गर्छ । पछिल्ला वर्ष चितवनमा सडक दुर्घटना बढिरहेको छ । पछिल्लो चार महिनाको अवधिमा चितवनमा २९ जनाले ज्यानसमेत गुमाएका छन् । तिनमा २१ पुरुष, ६ महिला र दुई बालबालिका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २९ जनाले ज्यान गुमाएका हुन् ।
यो अवधिमा दुई सय २४ दुर्घटना भएको र तनी सय ३३ सवारीसाधन दुर्घटनामा परेको थापाले जानकारी दिए । ती दुर्घटनामा चार सय ५६ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन् ।
ट्राफिक प्रहरी इन्स्पेक्टर थापाका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकलको संख्या दुई सय एक छन् । जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३०, ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ छन् । यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको थापाले जनकारी दिए । गत वर्ष सोही अवधिमा ४६ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने चार सय १४ जना घाइते भएका थिए ।
Comments