प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी

Bhugolpark

८ मंसिर, २०८२,१०:४१

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो ।

सुदन गुरुङ समूहका सदस्य अनिल बानियाँले भने, ‘आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौं । तर १० बजे जाने कि कतिबेला भन्ने टुंगो लागिसकेको छैन । जेहोस्, आज जान्छौं ।’

श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् ।

स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन् । संगीता र कमला दुवै एकैदिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।

यो समाचार सार्वजनिक भएपछि प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने माग जेनजी युवाहरुले गर्दै आएका छन् ।

सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनको दुरुपयोग भएको टिप्पणी गरेको छ । ‘हामीले सुशासन मागेका थियौं तर यस्तो कल्पना गरेका थिएनौं,’ सुदन समूहका सदस्य बानियाँले भने ।


53 Views

Comments