१ मंसिर, काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी खेल, अनी खेल हेर्न दर्शकका लागि प्यारापिटको व्यवस्था । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ ।
क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे-नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ ।
त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे-नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ ।
आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट क्यानलाई हस्तानतरण गरिएको छ । अब साविक विजेता जनकपुर बोल्ट्सले त्यही फ्लडलाइटमूनि सोमबार काठमान्डु गोर्खाजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । एनपीएलमा यसपटक पनि ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । कस्ता छन् ती ८ टिम ? संक्षिप्तमा चर्चा गर्नेछौं ।
जनकपुर बोल्ट्स
पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरले पहिलो सिजन सुदुरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो । दोस्रो सिजन जनकपुरको एक मात्र लक्ष्य उक्त उपाधि रक्षा गर्ने नै छ ।
जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । तर उसको लक्ष्य उही छ फेरि पनि एनपीएल ट्रफी जित्ने । त्यसैका लागि जनकपुरले तयारी तीव्र पारेको छ ।
जनकपुरले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा वेष्ट इन्डिजका शिवनराइन चन्द्रपललाई अनुबन्ध गरेको छ । यस्तै पहिलो सिजन च्याम्पियन बनेको टिमबाट कोर ग्रुपलाई निरन्तरता दिएको छ ।
जनकपुरको टिममा पहिलो सिजन खेलेको टिमबाट ९ खेलाडी दोस्रो सिजन पनि टिममै छन् । जनकपुरले आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन गरेको थियो ।
पहिलो सिजनको जनकपुर च्याम्पियन बन्दा उत्कृष्ट प्रदरशन गरेका न्युजिल्याण्डका अलराउण्ड जिम्मी निशम भने यस पटक टिममा हुने छैनन् ।
पहिलो सिजन टिममा रहेका शेर मल्ल, हेमन्त धामी, अरनिको यादव, आकाश त्रिपाठीलाई रिलिज गरेको जनकपुरले दोस्रो सिजनका लागि अक्सनबाट मयन यादवसहित सचिन भट्ट, विकाश आग्री र आदित्य महतालाई भित्र्याएको छ ।
विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी इटन अनुबन्ध गरेको छ ।
जनकपुरको टिम : आसिफ शेख, अनिल कुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, तुल बहादुर थापा, मयन यादव, सचिन भट्ट, विकाश आग्री, आदित्य महता, लाहिरु मिलान्था, वायन पार्नेल, इमरान ताहिर, लाहिरु समारकून, सञ्जय कृष्णमुर्ती, जान निकोल लफ्टी इटन, संगीथ कूरे
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम नेपाली घरेलु क्रिकेटका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा लगातार दोस्रो सिजन खेल्दैछ । राष्ट्रिय टिमका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँगै राष्ट्रिय टिमका अनुभव लिइसकेका खेलाडीहरू विनोद भण्डारी, अविनाश बोहरा, इशान पाण्डे जस्ता खेलाडी यस टिममा छन् ।
यस्तै विदेशी खेलाडीमा स्कट कुगेलेइन र हर्मित सिंहलाई दोस्रो सिजन पनि निरन्तरता दिएको सुदूरपश्चिमले अस्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन जस्ता खेलाडी दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले अहिलेसम्म चार विदेशी खेलाडी मात्र अनुबन्ध गरेको छ । एनपीएलमा एक टिमले बढीमा ६ जनासम्म अनुबन्ध गर्न पाउनेछ । चार विदेशी खेलाडी अनुबन्ध गर्दै सुदूरपश्चिमले टिम सन्तुलित बनाएको छ । क्रिस लिनको आगमनपछि उनले ओपनिङ गर्नेछन् । उनलाई टप अर्डरमा विनोद भण्डारी, इशान पाण्डेले साथ दिन सक्छन् ।
यस्तै मिडल अर्डरमा कप्तान दीपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, जोस ब्राउन अनुभवी खेलाडी छन् । दीपक बोहरा, मिलन बोहराको मिडल अर्डरमा विकल्पको रुपमा छन् ।
त्यसपछि पेस बलिङमा पहिलो सिजनका सर्वाधिक विकेटकर्ता स्कट कुगेलेइनसँगै अबिनाह बोहरा र हेमन्त धामी छन् । ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा पनि विकल्पमा छन् ।
स्पीनमा पनि नेपाली र विदेशी खेलाडीको साथ छ । अमेरिकी खेलाडी हर्मित सिंह र नरेन साउद मुख्य स्पीनरको रुपमा छन् । उनीहरूलाई कप्तान दीपेन्द्रले साथ दिनेछन् ।
सुदूरपश्चिमको टिम : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह
कर्णाली याक्स
नेपाली राष्ट्रिय टिमकै सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीको कप्तानीमा कर्णालीले पहिलो सिजन लिग चरणमा ७ मध्ये ४ खेल जितेको थियो ।
दोस्रो संस्करणका लागि कर्णालीले कोर समूहलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिएको छ । कर्णालीले सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश विक्रम ठकुरीलाई रिटेन गरेको थियो ।
यसमा सोमपाल, गुल्सन र नन्दन राष्ट्रिय टिमको सदस्य छन् भने बाँकी चार खेलाडी कर्णाली प्रदेशभित्रकै छन् । त्यसमा पनि कर्णालीले पहिलो सिजन ट्यालेन्ट हन्टबाटै छनोट गरेर चम्किएका विपिन शर्मालाई पनि रिटेन गरेको छ ।
यस्तै कर्णालीले अक्सनबाट अलराउण्डर पवन सर्राफ, स्पीनर युवराज खत्री, दिपक डुम्रे र इमरान शेखलाई अनुबन्ध गरेको छ ।
गत सिजन राम्रो प्रदर्शन गरेका अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोलाई पनि निरन्तरता दिएको छ ।
कर्णाली याक्सको टिम : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख, दिपक डुम्रे, विलियम बोसिस्टो, मार्क वाट, म्याक्स ओ’डाउड, नजिबुल्लाह जाद्रान, प्रियांक पान्चाल
चितवन राइनोज
दोस्रो सिजनको एनपीएलमा पनि चितवनको मार्कीमा कुशल मल्ल नै छन् । पहिलो सिजन टिममा रहेका कुशल मल्लसहित ६ खेलाडी रिटेन गरेको चितवनले दुई अनुभवी विदेशी खेलाडी रवि बोपारा र सोहल तनभिरलाई दोस्रो सिजन पनि निरन्तरता दिएको छ ।
यस्तै इंग्ल्याण्डका विश्वकप खेलिसकेका खेलाडी डाविड मलान र पहिलो सिजन सुदुरपश्चिम रोएल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैबलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअप बलियो देखिएको छ ।
यसबाहेक चितवनले पहिलो सिजनकै दुई खेलाडी विपिन रावल र रन्जित कुमारलाई पनि अक्सनबाट अनुबन्ध गरेको थियो । पहिलो सिजन चोटका कारण खेल्न नपाएका मिडियम पेसर कमल सिंह ऐरी दोस्रो सिजन टिममा छन् । यसरी हेर्दा चितवन राइनोजले दुई विदेशीसहित १० खेलाडी पहिलो सिजनबाटै निरन्तरता दिएको छ । त्यसमा थपिएका छन्, पहिलो सिजनको बेस्ट प्लेअर सैफ अली जैब ।
चितवनले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका देव खनाल र लुम्बिनी लायन्सबाट खेलेका विकेटकिपर अर्जुन साउदलाई अक्सनबाट अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको थियो ।
त्यसमा भेट्रानसहित ५ विदेशी खेलाडी समेत थपेपछि चितवन सबै पोजिसनमा सन्तुलित देखिएको छ । देव र अर्जुनले आवश्यकता अनुसार टप अर्डरमा खेल्न सक्छन् । यस्तै सैफ अली जैव पनि टप अर्डरमा खेल्छन् ।
डाविड मलान, रवि बोपारा टप अर्डर र मिडल अर्डरमा खेल्न सक्छन् । कप्तान कुशल मल्ल आवश्यकता अनुसार जुनसुकै पोजिसनमा पनि खेल्न सक्छन् । यस बाहेक मिडल अर्डरमा दीपक बोहरा, विपन रावल जस्ता खेलाडी पनि विकल्पमा छन् ।
रवि बोपारा, सेफ जैब, कुशल मल्ल स्पीन अलराउण्डरको रुपमा छन् भने अमरसिंह राउटेला मिडियम पेस बलिङ गर्ने अलराउण्डरको रुपमा छन् । मिडियम पेसरमा सोहेल तनभिरसँगै रिजन ढकाल र कमल सिंह ऐरी छन् । यस्तै गौतम केसी पनि मिडियम पेसको विकल्पमा छन् ।
यसबाहेक स्पीनमा रन्जित कुमार र विपिन आचार्य छन् । चितवनले युगान्डाका अलराउण्डर अल्पेश रम्जानीलाई पनि अनुबन्ध गरेको छ ।
टप अर्डर, मिडल अर्डर र पेस बलिङमा चितवन बलियो देखिएको छ । तर स्पीनरमा भने नाम चलेका खेलाडी छैनन् पार्ट टाईम स्पीनर मात्र छन् ।
यस्तै पेस बलिङ अलराउण्डरमा अमर राउटेला मात्र छन् । कमलले पनि लोअर अर्डर ब्याटिङ गर्न सक्छन् तर पहिलो सिजन चोटका कारण गुमाएका उनी पछिल्लो समय राष्ट्रिय टिममा पनि छैनन् ।
चितवन राइनोजको टिम : कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल, रवि बोपारा, सोहेल तनभिर, डाविड मलान, सेफ अली जैब, अल्पेश रमजानी
काठमान्डु गोर्खाज
मार्की खेलाडी करण केसीसहित ६ खेलाडी रिटेन गरेको काठमान्डुले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारीसहित ५ खेलाडी अनुबन्ध गरेको थियो । त्यसपछि पहिलो सिजन खेलेका नामिबियाका कप्तान जेरार्ड एरासमससहित ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।
यस्तै राजधानीको टिम काठमान्डु गोर्खाजले नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भारतका मोन्टी देसाइलाई अनुबन्ध गर्दै कोचिङ स्टाफ पनि बलियो बनाएको छ । मोन्टीलाई पहिलो सिजन मुख्य प्रशिक्षक रहेका बसन्त शाही ठकुरीले साथ दिनेछन् ।
पहिलो सिजन खेलिसकका एरासमससहित ६ विदेशी खेलाडी अनुबन्ध गर्दै काठमान्डुले टिम सन्तुलित बनाएको छ । त्यसमा काठमान्डुले ब्याटर र अलराउण्डरहरू थपेको छ ।
विशेषगरी ओपनिङ टप अर्डर र मिडल अर्डरमा काठमान्डुलाई विदेशी खेलाडी चाहिएको थियो र त्यही अनुसार नै अनुबन्ध गरेको छ । काठमान्डुले इंग्लिस विकेटकिपर जोन सिम्पसन र दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर रिकार्डो भासक्नसेलोसलाई अनुबन्ध गरेको छ ।
यस्तै मिडल अर्डरमा एरासमससहित बेन चार्ल्सवर्थलाई अनुबन्ध गरेको काठमान्डुले अमेरिकन अलराउण्डर मिलिन्द कुमार र भारतीय सन्नी पटेल अनुबन्ध गर्दै मिडल अर्डर र लोअर अर्डर पनि बलियो बनाएको छ ।
एरासमस, मिलिन्द कुमार र सन्नी पटेल स्पीन अलराउण्डर हुन् । स्पीनरमा उनीहरुलाई नेपाली खेलाडीद्वय शाहब आलम र दिपेश कँडेलको साथ हुनेछ । दुवै खेलाडी रिटेन भएका थिए ।
यस्तै कप्तान करण केसीसहित रासिद खान पेस बलिङ अलराउण्डरको रुपमा छन् ।काठमान्डुले अक्सनमा अर्का अलराउण्डर आदिल आमलालई अनुबन्ध गर्दै पेस बलिङमा पनि सन्तुलन बनाउने प्रयास गरेको छ । तर विदेशी खेलाडीमा ब्याटरमा ध्यान दिएको काठमान्डुले पेस बलिङमा भने कुनै विदेशी अनुबन्ध गरेन ।
काठमान्डु गोर्खाजको टिम : करण केसी, भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा, सन्तोष यादव, सोनु देवकोटा, जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल
विराटनगर किङ्स
पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगरले दोस्रो सिजनका लागि अझ धेरै चर्चा कमाइसकेको छ ।
मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले लिग अघि नै ठूलो चर्चा कमाएको छ । विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ ।
गप्टिललाई समेत फेरि अनुबन्ध गरेको विराटनगरले दक्षिण अफ्रिकाबाट फाफ डु प्लेसीसँगै फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ भने अस्ट्रेलियाका साम हिजलेट तथा अमेरिकन शुभम रन्जानेलाई पनि अनुबन्ध गरेको छ। स्कटल्यान्डका जर्ज मन्से पनि विराटनगरमा छन् ।
नेपाली ब्याटरहरूमा विराटनगरमा लोकेश बम, नरेन भट्ट, शंकर राना छन् । लोकेश र नरेनलाई रिटेन गरेको विराटनगरले अक्सनबाट शंकर रानालाई अनुबन्ध गरेको हो । यस्तै बसिर अहमद र नारायण जोशी अलराउण्डरको रुपमा छन् ।
विराटनगरले टप अर्डरमा तीन विदेशी खेलाडी खेलाउने पक्का छ । त्यसमा मार्टिन गप्टिल/फाफ डु प्लेसी, जर्ज मुन्से र साम हिजेलेट छन् । यी तीन बाहेक तीन नेपाली ब्याटर खेलाउन सक्छ ।
फाफ डु प्लेसी नोभेम्बर १८ देखि सुरु हुने अबुधाबी टी-१० लिगमा भिस्ता राइडर्समा अनुबन्ध भएकोले उनले एनपीएलको सुरुवाती केही खेल भने गुमाउनेछन् ।
यस्तै बलिङमा स्पीनमा सन्दीप लामिछानेसँगै सूर्य तामाङ, सुबास भण्डारी र स्पीन बलिङ अलराउण्डर बसिर अहमद रहेको विराटनगरमा प्रतिश जिसी नेपाली मिडियम पेसरको रुपमा छन् । त्यसैले विराटनगरले पेस बलिङमा विदेशी खेलाडी मर्चेन्ट डे लाङ अनुबन्ध गरेको हो ।
विराटनगर किङ्सको टिम : सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्वन किस्कु, शंकर राना, आयुष न्यौपाने, फाफ डुप्लेसी, जर्ज मन्से, साम हिजलेट, मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ, शुभम रन्जाने
पोखरा एभेन्जर्स
पहिलो संस्करण राम्रो टिम बनाएपनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ ।
पोखरामा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की खेलाडी छन् । भुर्तेलसहित पोखराले पहिलो सिजनबाट ७ खेलाडी रिटेन गरेको छ । भुर्तेलसँगै दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खची, किरण ठगुन्ना र तृत राज दासलाई पोखराले दोस्रो सिजनका लागि रिटेन गरेको हो ।
यस्तै अक्सनमा पोखराले स्थानिय खेलाडी प्राथमिकता दिएको छ । पोखराले युवा ब्याटर अर्जुन कुमालसहित सन्दिप क्षेत्री कृष्ण पौडेललाई अभिषेक तिवारीलाई अक्सनबाट अनुबन्ध गरेको छ ।
पहिलो सिजन जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका जिम्मी नीशम दोस्रो सिजन पोखरा एभेन्जर्सको जर्सीमा देखिने भएका छन् । त्यसअघि पोखराले इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेइट तथा बार्बाडोसका रेमन रेइफरलाई अनुबन्ध गरेको छ । इंग्ल्यान्डका जेसन रोय पनि पोखरामा अनुबन्धित भएका छन् ।
कप्तान कुशल भुर्तेलसँगै दिनेश खरेल, रोसिङटन हुँदा टप अर्डर सन्तुलित छ । यस्तै अक्सनबाट लिएको युवा ब्याटर अर्जुन कुमाल पनि राम्रो विकल्प बन्न सक्छन् ।
मिडल अर्डरमा नीशमसँगै तृतराज दास र किरण ठगुन्ना मिडल अर्डर खेल्छन् । अक्सनबाट अनुबन्ध भएका नेपाल यू१९ टिमबाट खेलिसकेका युवा खेलाडी अभिषेक तिवारी पनि विकल्पमा छन् ।
रिटेन गरिएका स्पीनरद्वय सागर ढकाल र विपिन कार्कीसँगै मिडियम पेसर आकाश चन्द बलिङमा छन् ।
पोखरा एभेन्जर्सको टिम : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृत राज दास, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन कुमाल, सन्दिप क्षेत्री, कृष्ण पौडेल, अभिषेक तिवारी, एडम रोसिङटन, रेमन रेइफर, डान डौथवेइट, जिम्मी नीशम, जेसन रोय
लुम्बिनी लायन्स
रोहितको कप्तानीमा रहेको टोली लुम्बिनी लायन्स पहिलो सिजनको प्रदर्शन र नतिजालाई बिर्साउने लक्ष्यमा छ ।
त्यसका लागि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने गरी लुम्बिनी लायन्स टोली यतिबेला तीव्र तयारीमा छ ।
दोस्रो सिजनका लागि लुम्बिनीले टिमको लोगो, कलरदेखि मुख्य प्रशिक्षकसम्म धेरै कुरा परिवर्तन गरेको छ । यस्तै विदेशी खेलाडीहरूमा पनि लुम्बिनीले धेरै परिवर्तन गरेको छ । अब मैदानमा पनि लुम्बिनी नतिजा परिवर्तन गर्न चाहन्छ ।
लुम्बिनीले कप्तान रोहितसहित सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक राज भण्डारीलाई रिटेन गरेको थियो । तर घाइते भएका विवेकको स्थानमा लुम्बिनीले सुमित महर्जनलाई टिममा राखेको छ ।
यस्तै पहिलो संस्करण खेलेका मिडियम पेसर दुर्गेश गुप्तासहित दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको छ ।
लुम्बिनीले यस पटक कोचिङ स्टाफमा पनि ठूलो परिवर्तन गरेको छ । शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको लुम्बिनीले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ भने भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक बनाएको छ ।
विदेशी खेलाडीमा अस्ट्रेलियाका ओपनर डार्शी शर्टसहित अफगानिस्तानका स्टार अलराउन्डर गुल्बादिन नाइब, इटालीका बलर थोमस ड्राका, नामिबियाका बलर रुबेन ट्रम्पलमन तथा अलराउन्डर जेजे स्मिथ अनुबन्ध गरेको छ ।
लुम्बिनी लायन्सको टिम : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नाइब, रुबेन ट्रम्पलमन, जेजे स्मिथ
Comments