मेक्सिकोमा जेनजी आन्दोलनले लियो गति, प्रदर्शनकारी भन्छन्– देश मर्दै छ

Bhugolpark

३० कार्तिक, २०८२,११:०४

काठमाडौं । मेक्सिको सिटीमा अपराध र भ्रष्टाचारविरुद्ध थालिएको जेनजी आन्दोलनले गति समातेको छ । शनिबार हजारौँ युवा प्रदर्शनकारी मेक्सिको सिटीका सडकमा उत्रिए ।

यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा र लाठीले आक्रमण गरेका छन् ।

यसबीचमा प्रदर्शनकारीहरूले प्रहरीको ढाल र अन्य उपकरण पनि छिन्नभिन्न पारेका छन् । जेनजीको विरोध प्रदर्शनमा १२० जना घाइते भएका छन् । मेक्सिको सिटीका सुरक्षा सचिव पाब्लो भाज्केजले हिंसाका बेला १२० जना घाइते भएको र जसमध्ये १०० जना प्रहरीकर्मी भएको बताए । यस क्रममा २० जनालाई पक्राउ गरिएको बताइएको छ ।

यस वर्ष जेनजी उमेर समूहले असमानता र भ्रष्टाचारविरुद्ध धेरै देशमा विरोध प्रदर्शन आयोजना गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिबन्धपछि सेप्टेम्बरमा नेपालमा सबैभन्दा ठूलो जेनजी विरोध प्रदर्शन भएको थियो । जसका कारण नेपालका तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपरेको थियो ।

मेक्सिकोमा धेरै युवा भ्रष्टाचार र हिंसाजस्ता प्रणालीगत समस्याहरूबाट निराश छन् । मेक्सिकोमा समुद्री डाकुको खोपडी भएको झन्डा आन्दोलनको प्रतीक बनेको छ । प्रदर्शनकारीहरूले यो झन्डा हल्लाइरहेका छन् ।

विरोध प्रदर्शनमा सामेल ४३ वर्षीया चिकित्सक एलिजाबेथ गार्सियाले उनी सार्वजनिक स्वास्थ्य प्रणालीका लागि थप रकम र राम्रो सुरक्षाको माग गरिरहेको बताइन् । उनले डाक्टरहरू असुरक्षित भएको र उनीहरूलाई हत्या गरिने डर रहेको उल्लेख गरिन् ।

मेक्सिकोकी राष्ट्रपतिले विपक्षी दलहरूमाथि हालै भएका एक लोकप्रिय मेयरसहित धेरै उच्च–प्रोफाइल हत्या घटनामा संलग्न भएको आरोप लगाएकी छन् । त्यसका बाबजुद मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामको लोकप्रियता अझै कायम छ । शेनबामले दक्षिणपन्थी दलहरूलाई जेनजी आन्दोलनमा घुसपैठ गरेको र सोशल मिडिया प्रयोग गरेर जनताको भीड बढाउने प्रयास गरेको आरोप लगाएकी छन् ।


40 Views

Comments