ओलीजीले ट्याउँट्याउँ गर्नुभएको छ, सम्भवतः चुनावमा त्यत्तिकै आउनु हुन्न : भुसाल

Bhugolpark

२८ कार्तिक, २०८२,१०:१८

काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक मात्र बाधक रहेको टिप्पणी गरेका छन् । उनले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन अरू कुनै कारणले रोक्नु वा सार्नुपर्ने नरहेको बताएका हुन् ।

अन्तरिम सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन आउँदो फागुन २१ गते हुने गरी तोकेको छ । ‘जेनजी’ आन्दोलनको बलमा तत्कालीन सरकार र संसद् विघटन गरिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले देशमा शासन गरिरहेको छ ।

राजनीतिक दलका नेताले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउँदै आएका छन् । एमालेले संसद् पुनर्स्थापनको एजेन्डा अघि सारेको छ । निर्वाचनबारे नेपाली कांग्रेसमा मत विभाजित छ । अरू राजनीतिक दल भने निर्वाचनमा जाने मनस्थितिमा छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । आफूहरूको पहिल्यै राजनीतिक दल रहेको उनले बताए । उनले आउँदो निर्वाचनमा एजेन्डासहित प्रस्तुत हुने सुनाए ।

सबै राजनीतिक दलले चुनावको प्रचारप्रसार गरेपछि ‘लतारिएर’ निर्वाचनमा आउनुको विकल्प ओलीसँग नहुने उनले तर्क गरे । सरकारको तयारी, राजनीतिक वातावरणका हिसाबले निर्वाचन सार्नु वा नहुनुपर्ने कुनै कारण नरहेको उनले बताए । 

नेता घनश्याम भुसालको भनाइ पढ्नोस्–

हामीसँग अलरेडी पार्टी छँदै छ । आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रस्ट छौँ । हामी विप्लवजीहरूसहित चुनावमा जान्छौँ । चुनावका लागि ओलीजी मात्रै बाधक हो । अरू कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर, मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन । भवितव्य, तात्कालीक प्राविधिक कारणले सर्‍यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारीको हिसाबले भन्नुहुन्छ, अरू राजनीतिक वातवरणको हिसाबले भन्नुहुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिनँ । ओलीजीले अहिले जुन ट्याउँट्याउँ गर्नुभएको छ, उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनु हुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन् ।


16 Views

Comments