काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ले राखेका माग पूरा नभई निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार (कात्तिक २७) बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउने प्रयोजनका निम्ति त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।
केहीबाहेकका सबै जेनजी एक ठाउँमा रहेका उनले उल्लेख गरे । उनले जेनजीका माग पूरा गरिनुपर्नेमा जोड दिए ।
जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने उनले चेतावनी दिए । यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनले बताए ।
“समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एकदुईजना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौँ,” उनले भने, “माग पूरा नभईकन कसरी चुनाव हुन्छ ? यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ ।”
जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास उनले दिलाएका भए पनि त्यसानुसार काम नभएको गुरुङको भनाइ थियो ।
“उहाँ (ओमप्रकाश अर्याल) हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको हो । माग पूरा हुन्छ/हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे,” उनले भने, “यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।”
आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने उनले बताए । गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छाडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ ।
Comments