भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको ट्रम्पको दावी

Bhugolpark

२१ कार्तिक, २०८२,१०:१४

२१ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसबाट तेल किन्न लगभग बन्द गरेको दावी गर्दै आफूले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् ।

बिहीबार ह्वाइटहाउसको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले आफू छिट्टै भारत भ्रमणमा जान लागेका बताएका हुन्। आफ्नो प्रयासपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेको बताएका ट्रम्पले मोदी आफ्ना मित्र भएको पनि बताए । ट्रम्प र मोदीले पटकपटक एक–अर्कालाई नजिकको मित्र दावी गर्ने गरेका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन् । उनी मेरा मित्र हुन्,’ ट्रम्पले भने, ‘म उनीसँग कुरा गर्ने छु । मोदी मलाई भारत भ्रमणमा आउन् भन्ने चाहेका छन् । हामी छिट्टै यसबारे तय गर्नेछौं।’

ट्रम्पले पत्रकार सम्मेलनमा भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको पुन: दाबी गरेको बीबीसीले जनाएको छ। ‘भारत र पाकिस्तानबीच संघर्ष रोक्न हामीले ट्यारिफलाई हतियार बनायौं,’ उनले भने, ‘हामीले दबाब दिएर २४ घण्टाभित्रै संघर्ष समाप्त गरिदियौं।’


159 Views

Comments