गणेश साहले भने– राजनीतिबाट सन्न्यास लिएँ, प्रचण्डजीलाई फुर्सद कहाँ छ र !

Bhugolpark

३० आश्विन, २०८२,११:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तत्कालीन सचिव गणेश साहले आफूले राजनीति त्यागेको बताएका छन् । गएको भदौ २३ र २४ गते ‘जेनजी’ विद्रोहपश्चात् नै आफू माओवादी बैठकमा सहभागी नभएको उनले जानकारी दिए ।

जेनजीको भावनाअनुसार पार्टी अघि नबढेकाले आफू अलग भएको उनले बताए । जेनजी आन्दोलनपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन गर्दै हाल महाधिवेशन आयोजक समिति बनाइएको छ ।

“जेनजीको भावनाअनुसार पार्टी अगाडि बढेन । त्यसपछि नै बैठकमा सहभागी भएको छैन । मैले राजनीतिबाट सन्न्यास लिएँ,” उनले बाह्रखरीसित भने ।

उनले अब आफू पुरानै कर्ममा फर्कने बताए । “अब मैले पुरानै गर्दै आएको वातावरणसम्बन्धी काम गर्छु । राजनीतिबाट विश्राम लिएँ,” उनले भने, “७६ वर्षको भइसकेँ, नयाँ पुस्ताले नेतृत्व चाहिन्छ भनिरहेका बेला हामी बसिरहनु राम्रो हुँदैन ।

आफू बैठकमा सहभागी नहुँदा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित कुनै संवाद नभएको उनले बताए । महाधिवेशनका विषयमा सुझाव लिन चाहे अनौपचारिक रूपमा आफूले दिने उनले स्पष्ट पारे ।

उनले भने, “प्रचण्डजीलाई हामीसँग कुरा गर्ने फुर्सद कहाँ छ र ! जेनजीको भावनाअनुसार त अगाडि बढुनुभएको जस्तो लाग्दैन, सुझाव लिन चाहे दिन्छु ।”


 


21 Views

Comments