गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति, पुनर्निर्माणमा २० अर्ब डलर चाहिने अनुमान

Bhugolpark

२९ आश्विन, २०८२,०८:००

काठमाडौं । इजरायल–हमास युद्धका कारण प्रभावित गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्यसको पुनर्निर्माणमा २० अर्ब डलर आवश्यक पर्ने अनुमान समेत गरिएको छ । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र विश्व बैंकले संयुक्त रूपमा गरेको मूल्यांकनबाट सो अनुमान गरिएको हो ।

संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी) का प्यालेस्टाइन विशेष प्रतिनिधि याको सिलियर्सले मंगलबार पत्रकारहरुसँग भने, ‘गाजाको करिब ८४ प्रतिशत क्षेत्र क्षतिग्रस्त भएको छ र गाजा शहरजस्ता ठाउँमा ९२ प्रतिशतसम्म क्षति देखिन्छ । पुनर्निर्माणको विशाल अभियानका लागि आगामी तीन वर्षमा २० अर्ब डलर आवश्यक पर्नेछ ।’ उनका अनुसार, गाजाको पुनर्निर्माणका लागि अरब मुलुकहरूसँगै युरोपेली देश र अमेरिकाबाट पनि सम्भावित आर्थिक सहयोगका संकेत प्राप्त भएका छन् ।

२१ लाख मानिसहरूलाई मानवीय सहायता

युएनडीपीले आफ्ना साझेदार संस्थाहरूसँग मिलेर २१ लाख मानिसहरूलाई मानवीय सहायता पुर्‍याउने प्रयास गरिरहेको जनाएको छ । यसअन्तर्गत, स्वच्छ पानी, आपतकालीन रोजगारी, औषधि आपूर्ति, फोहर व्यवस्थापन, आवास र सार्वजनिक स्थलहरूको सुरक्षा छन् । साथै भग्नावशेषमा पुरिएका विस्फोटक पदार्थ हटाउने कार्य पनि भइरहेको छ ।

सिलियर्सका अनुसार, हालसम्म ८१ हजार टन भग्नावशेष हटाइएको छ, जुन करिब ३ हजार १०० ट्रकभरी बराबर हो । यसले मानवीय सहायताकर्मीहरूलाई स्थानीय बासिन्दासम्म राहत र सहयोग पुर्‍याउन सजिलो बनाएको छ । साथै, अस्पताल र सामाजिक सेवाहरूका लागि पनि भग्नावशेष हटाउने काम भइरहेको छ ।

युद्धविराम सम्झौता

गत सोमबार इजिप्टको शर्म अल–शेख शहरमा इजरायल र हमासबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो । सोही दिन २० जना इजरायली बन्धकहरूलाई हमासले मुक्त गरेको थियो । त्यसको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनीहरु पनि रिहा गरिएका छन् ।युद्धविराम सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कतार, इजिप्ट र टर्कीका नेताहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविराम र बन्धक रिहाइको स्वागत गर्दै गरेका छन् ।

सहायता विस्तारको आवश्यकता

युद्धविराम पछि गाजामा विस्तृत मानवीय सहायता अभियान सञ्चालनका प्रयासहरू भइरहेका छन् । शुक्रबारदेखि मात्रै तीन लाखभन्दा बढी प्यालेस्टिनीहरू गाजा सहरतर्फ फर्किएका छन् ।

इजरायल प्रशासनले हालसम्म १ लाख ९० हजार टन राहत सामग्री गाजा क्षेत्र प्रवेशमा अनुमति समेत दिएको छ । संयुक्त राष्ट्र संघका निकायहरूले आफ्ना साझेदारहरूसँग मिलेर ती सामग्रीहरू वितरण गरिरहेका छन् तर अझ धेरै मात्रामा राहत सामग्रीको आपूर्ति आवश्यक रहेको बताइएको छ ।

संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) का प्रवक्ता रिकार्डो पिरेसले युद्ध प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पर्याप्त मात्रामा आपूर्ति हुन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदाय र सर्वसाधारणबीच यो आशा थियो कि अब पीडाको अन्त्य सुरु हुँदैछ र परिस्थितिमा सुधार आउने छ तर अहिलेसम्म त्यो व्यवहारमा देखिएको छैन ।’


13 Views

Comments