बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प, विपिनको अवस्था अज्ञात

Bhugolpark

२७ आश्विन, २०८२,०७:३७

काठमाडौं । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ । इजरायल जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘युद्ध समाप्त भएको’ बताएका छन् । साथै उनले युद्धविराम कायम रहने र गाजाका लागि ‘बोर्ड अफ पिस’ छिट्टै गठन गरिने पनि बताए ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युद्धविराममा मध्यस्थताको भूमिका खेलेको कतारको पनि प्रशंसा गरे । इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताए ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १ हजार ७०० जना बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

इजरायलको संसदमा ट्रम्पले गर्नेछन् सम्बोधन

ट्रम्प सोमबार इजरायल पुग्ने र त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँगै शर्म अल–शेखमा आयोजना हुने शिखर सम्मेलनको नेतृत्व गर्नेछन् ।

इजिप्टको विदेश मन्त्रालयका अनुसार ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा उक्त सम्मेलनमा हस्ताक्षर गरिने छ । उक्त समारोहमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास पनि रहनेछन् ।

ट्रम्पले भने– युद्धविराम कायम रहने छ

बीबीसीले युद्धविराम टिक्ने विश्वास छ कि छैन भनेर सोध्दा ट्रम्पले युद्धविराम कायम रहने बताएका छन् । उनले भनेका छन्, ‘युद्धविराम कायम रहनेछ । म युद्ध समाधान गर्न जान्दछु र शान्ति स्थापना गर्न पनि सक्षम छु ।’

इजरायली आक्रमणबाट ध्वस्त भएको गाजा क्षेत्र छिट्टै सामान्य अवस्थामा फर्कने ट्रम्पको विश्वास छ । गाजाको हेरचाहका लागि बोर्ड अफ पिस नामक निकाय छिट्टै गठन गरिने उनले बताए ।

डोनाल्ड ट्रम्पको पहलमा गत शुक्रबार युद्धविराम सम्झौता भएपछि शनिबारको दिन इजरायली शहर तेल अविवमा सयौं इजरायलीहरू भेला भएर अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्दै प्रदर्शन गरेका थिए ।

यद्यपि शान्ति योजनाका आगामी चरणहरूमा सहमति जुटाउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । विशेष गरी गाजाको प्रशासन, इजरायली सेना फिर्ता लैजाने सीमा र हमासको निशस्त्रीकरणका विषयमा सहमति जुटाउन कठिन हुनसक्ने बीबीसीले जनाएको छ ।


59 Views

Comments