दुनियाँभर बढ्दै क्यान्सरको खतरा, सन् २०५० सम्म झण्डै २ करोडको ज्यान जाने जोखिम

Bhugolpark

२६ आश्विन, २०८२,०८:३९

२६ असोज, काठमाडौं । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय पत्रिका द ल्यान्सेटमा प्रकाशित एक नयाँ रिपोर्टअनुसार सन् २०५० सम्म क्यान्सरका केसहरू तीन करोड पुग्ने र १ करोड ८६ लाख मानिसको मृत्यु हुने सम्भावना छ । रिपोर्टअनुसार हृदय रोगपछि क्यान्सर अहिले संसारमा मृत्युको दोस्रो ठूलो कारण बनेको छ ।

क्यान्सर एउटा यस्तो घातक रोग हो, जसले विश्वभर करोडौं मानिसको जीवन प्रभावित गरिरहेको छ । नयाँ रिपोर्टले देखाएको छ कि सन् १९९० देखि २०२३ सम्म क्यान्सरका केस र मृत्यु दर दुवै तीव्र रूपमा बढेका छन् । उपचार र रोकथामका प्रयासमा प्रगति भएको छ तर रोगको फैलावट भने रोकिन सकेको छैन ।

अध्ययनका तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर १ करोड ८५ लाख मानिसमा क्यान्सर पत्ता लागेको थियो भने १ करोड ४ लाख मानिसको मृत्यु भएको थियो । यी तथ्यांकमा सामान्य छालाको क्यान्सर भने समावेश छैन ।

चिन्ताजनक कुरा यो हो कि नयाँ केसहरू मध्ये करिब ५८ प्रतिशत र मृत्युहरू मध्ये करिब ६६ प्रतिशत घटना कमजोर र मध्यम आय भएका देशहरूमा भएका थिए । यी देशहरू पहिले नै स्वास्थ्य सेवा पूर्ति गर्न संघर्षरत छन्, त्यसैले बढ्दो क्यान्सर भारले थप दबाब सिर्जना गर्न सक्छ ।

यस नयाँ विश्लेषणमा जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री, मृत्यु दर्ता प्रणाली र क्यान्सरका बिरामीका परिवार वा हेरचाहकर्तासँगका अन्तर्वार्ताबाट संकलित तथ्यांक प्रयोग गरिएको थियो । अध्ययनले सन् १९९० देखि २०२३ सम्म २०४ देश र क्षेत्रका ४७ प्रकारका क्यान्सर र ४४ जोखिम कारकको विश्लेषण गरेको छ ।

अध्ययनले सन् २०५० सम्म क्यान्सरको सम्भावित प्रभावको पनि अनुमान गरेको छ । साथै, सन् २०१५ देखि २०३० सम्म गैरसंक्रामक रोगहरूबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने संयुक्त राष्ट्रसंघको लक्ष्यमा विश्वले कति प्रगति गरेको छ भन्ने कुरा पनि मूल्यांकन गरिएको छ ।

यदि छिट्टै ठोस कदम नचालिए सन् २०५० सम्म क्यान्सरका बिरामीको संख्या ३ करोड ५ लाख पुग्नेछ र १ करोड ८६ लाख मानिसले ज्यान गुमाउने सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । यीमध्ये आधाभन्दा बढी केस र दुई तिहाइ मृत्यु कमजोर तथा मध्यम आय भएका देशहरूमा हुने अनुमान गरिएको छ ।

यसको अर्थ सन् २०५० सम्म नयाँ क्यान्सर केसमा ६०.७ प्रतिशत र मृत्युमा ७४.५ प्रतिशत वृद्धि हुनसक्छ । अध्ययनअनुसार सबैभन्दा तीव्र वृद्धि कमजोर र मध्यम आय भएका देशहरूमा हुनेछ, जहाँ मृत्यु दरमा करिब ९१ प्रतिशतसम्म वृद्धि हुनसक्छ, जबकि धनी देशहरूमा यो वृद्धि करिब ४३ प्रतिशतसम्म सीमित रहने अनुमान छ ।

बढ्दो जनसंख्या र वृद्ध जनसंख्याको प्रभाव

रिपोर्टअनुसार उमेरअनुसार क्यान्सरको दरमा खासै वृद्धि नहुने भए पनि जनसंख्या र वृद्धहरूको बढ्दो संख्या क्यान्सरका केसहरूमा ठूलो वृद्धि ल्याउने सम्भावना छ । सन् २०२४ देखि २०५० बीच उमेर अनुसारको क्यान्सर मृत्यु दरमा विश्वव्यापी रूपमा करिब ५.६ प्रतिशत कमी आउन सक्ने अनुमान छ । तर विशेषज्ञहरू भन्छन्– जनसंख्या वृद्धि र मानिसहरूको आयु बढ्दै जाँदा क्यान्सरका कुल केसहरूमा ठूलो वृद्धि हुनेछ ।

रिपोर्टले यस सुधारलाई संयुक्त राष्ट्रसंघको लक्ष्यभन्दा निकै पछाडि रहेको बताएको छ, जसले सन् २०३० सम्म गैरसंक्रामक रोग (जस्तै क्यान्सर) बाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने लक्ष्य राखेको थियो ।

सन् १९९० देखि २०२३ सम्म क्यान्सरबाट हुने मृत्युमा ७४ प्रतिशत र नयाँ केसमा १०५ प्रतिशत वृद्धि भएको छ । धनी देशहरूमा उमेर अनुसार मृत्यु दर २४ प्रतिशतले घटेको भए पनि गरीब र मध्यम आय भएका देशहरूमा नयाँ केस दर क्रमश: २४ र २९ प्रतिशतले बढेको छ । सन् २०२३ मा स्तन क्यान्सर सबैभन्दा सामान्य थियो, जबकि फोक्सोको क्यान्सर सबैभन्दा बढी मृत्युको कारण बन्यो ।

UN: World population could reach 11.2 billion by end of century

चारमध्ये एक मृत्युको कारण तम्बाकू

अध्ययनले के पनि देखाएको छ भने सन् २०२३ मा क्यान्सरका करिब ४२ प्रतिशत (४३ लाख) मृत्युहरू रोक्न सकिने कारणहरूमार्फत भएका थिए । यसमा तम्बाकू सेवन, असुरक्षित यौन सम्बन्ध, मोटोपन, अस्वस्थ खानपान र खराब जीवनशैली प्रमुख थिए । सबैभन्दा ठूलो कारण तम्बाकू थियो, जसले विश्वभर क्यान्सर मृत्युका २१ प्रतिशत घटनामा योगदान दिएको थियो ।

तम्बाकू लगभग सबै देशमा मुख्य जोखिम कारक थियो, तर कमजोर अर्थतन्त्र भएका देशहरूमा असुरक्षित यौन सम्बन्ध प्रमुख कारण बनेको थियो, जसले त्यहाँका क्यान्सर मृत्युका १२.५ प्रतिशत घटनामा भूमिका खेलेको थियो ।

रिपोर्टअनुसार सन् २०२३ मा पुरुषका ४६ प्रतिशत र महिलाका ३६ प्रतिशत क्यान्सर मृत्युहरू रोक्न सकिने कारणहरूसँग सम्बन्धित थिए । पुरुषहरूका लागि तम्बाकू, मदिरा, अस्वस्थ खानपान, कार्यस्थल जोखिम र वायु प्रदूषण प्रमुख कारण थिए । महिलाहरूमा तम्बाकू, असुरक्षित यौन सम्बन्ध, मोटोपन र उच्च रक्तचाप प्रमुख कारक थिए ।

अमेरिकी विशेषज्ञ डा. लिसा फोर्सले चिन्ता व्यक्त गर्दै भनेकी छन्, ‘आगामी दशकहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्नेछ, विशेषगरी ती देशहरूमा जहाँ स्रोत सीमित छन् । तर दुर्भाग्यवश, क्यान्सर नियन्त्रण नीति अझै पनि विश्व स्वास्थ्य प्राथमिकता बनेको छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञ डा. मेघनाथ धिमालका अनुसार, ‘कमजोर देशहरूमा बढ्दो क्यान्सर संकट बन्दैछ । अहिले नै कदम नचालिए अवस्था नियन्त्रणबाहिर जान सक्छ ।’

विशेषज्ञहरूले हरेक देशले आफ्ना क्यान्सर नीतिमा रोकथाम, प्रारम्भिक जाँच र उपचारको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै, विश्वसनीय तथ्यांक संकलनका लागि बलियो निगरानी प्रणाली (रजिस्ट्री सिस्टम) आवश्यक छ, जसको आधारमा प्रभावकारी नीति निर्माण गर्न सकियोस् ।

यदि सरकारहरूले निर्णायक कदम चालेनन् भने सन् २०५० सम्म क्यान्सर यस्तो विश्वव्यापी महामारी बन्न सक्छ- जसबाट बच्न गाह्रो हुनेछ ।


33 Views

Comments