जेनजी आन्दोलनका मृतकको अन्त्येष्टि गरिंदै, शोकमग्न आफन्त

Bhugolpark

३१ भाद्र, २०८२,११:३५

३१ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारका सदस्य र आफन्तहरुले शवयात्रा निकाल्ने तयारी गरिएको छ ।

शवयात्राका लागि आएकाहरुले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् । उनीहरु शोकमग्न अवस्थामा देखिन्छन् । कतिपयले ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन् ।

सरकारले आन्दोलमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरु छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

शवहरु संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । त्यहाँ पोष्टमार्टम गरी शवको पहिचान भएपछि आफन्तको जिम्मा लगाउने गरिएको छ । केही शव पहिल्यै आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन् । आज रसिक खतिवडा लगायतको शवयात्रासहित अन्त्येष्टि गरिँदै छ ।


62 Views

Comments