मकवानपुरमा श्रीमानलाई बाँधेर २ महिनाकी सुत्केरीमाथि बलात्कार

Bhugolpark

२९ भाद्र, २०८२,१३:२९

२९ भदौ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । राक्सिराङ गाउँपालिकाका अनुसार २७ भदौ शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो ।

आर्थिक अवस्था कमजोर भएको परिवारकी उनलाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अनलाइनखबरलाई जानकारी दिए । ‘आफूमाथि बलात्कार गरेको भनेर पीडित महिलाले हामीलाई भनेकी हुन’, अध्यक्ष मल्लले भने ।

प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार गरेको अध्यक्ष मल्लले बताए । पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएको छ ।

आर्थिक अभावले खानेकुरासमेत नभएकोले सुत्केरी हुँदा गाउँपालिकाले आर्थिकसहित पौष्टिक आहार सहयोग पनि गरेको थियो । गाउँपालिकाले पीडित परिवारलाई आज बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ ।

पीडित महिलाको महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको अध्यक्ष मल्लले बताए । घटनापछि स्थानीय प्रहरीलाई खबर गर्दा प्रहरी पनि घटनास्थल जान डराएको उनले बताए । ‘पीडितको घर जंगलको एकान्तमा छ । तर, पनि गाउँमा अशान्त थिएन । प्रहरी जान डरायो । त्यसपछि हामीले नै उहाँहरूलाई हेटौंडा लगेका छौं’, उनले भने ।



54 Views

Comments