स्कुल ड्रेस र किताबसहित जेनजी पुस्ता सडकमा उत्रिँदै

Bhugolpark

२२ भाद्र, २०८२,१२:४५

काठमाडौं । सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गर्‍यो । नेपालमा सूचीकरण गर्नुपर्ने ढिपी कसेर सरकारले अन्य बाटो भन्दा एक्सेस नै बन्द गर्ने बाटोमा पुग्यो । 

त्यसको विरोध, नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिँदैछ । यसपटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ । सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ ।

सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गर्‍यो । यसअघि २०८० मंसिरमा सामाजिक सञ्जाल निर्देशिका जारी गरी सूचीकृत हुन अनुरोध गरेको थियो । सरकारले अचानक सामाजिक सन्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेनजी पुस्ता भएको छ । 

सामाजिक सन्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले भदौ २३ (सेप्टेम्बर ८) मा बृहत् आन्दोलनको तयारीमा जुटेको सामाजिक सञ्जालमार्फत् नै जनाएका छन् । विशेष गरी टिकटकमा लोकप्रिय पुस्ताले यो अभियान छेड्ने उद्घोष गरेका छन् ।

सामाजिक सञ्जालको एक्सेस बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरुले सरकारविरुद्ध स्वतः स्फूर्त आन्दोलनको घोषणा गरेका हुन् ।

सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले आन्दोलनको घोषणा गरेका हुन् ।  जेनजीको आन्दोलनलाई कन्टेन्ट क्रियटर्सहरुले साथ दिएका छन् । टिकटक लगायतका प्लेटफर्म धेरै फ्लोवर्स भएका प्रयोगकर्ताले राजनीतिकरण हुन नदिन पनि अपिल गरिरहेका छन् । 

उनीहरुले विद्यार्थीलाई ड्रेस र पुस्तक नै बोकेर सडकमा उत्रिन आह्वान गरेका छन् । विशेष गरी नेताका परिवारका सदस्यको रवाफिलो शैलीमाथि पनि उनीहरुले प्रश्न उठाएका छन् । त्यसको पनि विरोध भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।


62 Views

Comments