राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी

Bhugolpark

२१ कार्तिक, २०७९,०६:२३

बागलुङ, २१ कात्तिक (रासस) ःविद्यार्थी राजनीतिबाट एकाएक उदाउनुभएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ।

ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रनुभएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय हुनुहुन्थ्यो । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आउनुभएका उहाँ नेपाली कांग्रेसका कान्छा उम्मेदवारमध्येमा पर्नुहुन्छ । काठमाडौँस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसक्नुभएका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका–१४ मा जन्मनुभएका उहाँलाई सो निर्वाचन क्षेत्रका ४६ हजार ८६ मतदातामध्ये कतिले पत्याउने हुन् त्यसका लागि त मङ्सिर ४ नै कुनुपर्छ । बरु रोचक पक्ष त के छ भने हिजोका राजनीतिक सहयोद्धा नै यो चुनावमा सुवेदीका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ।

कांग्रेस त्यागेर नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका नवराज पौडेलले सुवेदीलाई चुनौती दिनुभएको छ । सुवेदी र पौडेल सँगसँगै गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी बनेका थिए । पौडेल कांग्रेसका निवर्तमान जिल्ला सचिवसमेत हुनुहुन्छ । दुवै पहिलोपटक प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् । सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा पनि उम्मेदवार हुनुहुन्छ।

बागलुङ–१ (२) ले जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं १२, १३ र १४ लाई समेट्छ । पचास हजार पाँच सय ८० मतदाता रहेको बागलुङ–१ (१) मा भने मुख्य प्रतिस्पर्धीका रुपमा पुरानै अनुहार देखिएका छन् । विसं २०७४ को प्रदेशसभा सदस्य चुनावमा पराजित दीपेन्द्रबहादुर थापा यसपालि पनि उम्मेदवारमा दोहोरिनुभएको छ । उहाँका विरुद्ध एमालेले युवा नेता हीराबहादुर खत्रीलाई उतारेको छ । थापाले अघिल्लो चुनावमा एमालेका इन्द्रलाल सापकोटासँग हार व्यहोर्नुपरेको थियो । वाम गठबन्धनबाट साझा उम्मेदवार रहनुभएका सापकोटाले १७ हजार नौ सय १५ र थापाले ११ हजार नौ सय ८९ मत ल्याउनुभएको थियो ।

 

अहिलेको चुनावमा भने थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ । कांग्रेसका पूर्वजिल्ला सभापति थापाले यसपालिको चुनावलाई हारको बदला लिने अवसरका रुपमा लिनुभएको छ । थापालाई एमालेका जिल्ला अध्यक्ष खत्रीको चुनाती छ । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित खत्रीलाई एमालेले प्रदेशसभा उम्मेदवार बनाएको छ । यी दुवै यसअघिका चुनावमा परीक्षण भइसकेका पात्र हुन् । थापा र खत्रीबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । यो अन्यत्रको तुलनामा एमालेको जनमत बढी भएको क्षेत्र पनि हो । गत स्थानीय चुनावमा भने यहाँका दुईवटै स्थानीय तहमा कांग्रेस उम्मेदवारले जितेका थिए । बागलुङ–१ (१) मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १ देखि ११ सम्मका वडा पर्छन् । यो क्षेत्रमा राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि उम्मेदवार हुनुहुन्छ । यी पनि प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् । बागलुङ–२ (१) मा दुई जना मात्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट कांग्रेसका जीत शेरचन र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती चुनावमा होमिनुभएको छ । घर्ती पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बन्नुभएको हो भने शेरचन तेस्रोपटक । कांग्रेसका जिल्ला सभापति शेरचन विसं २०७४ र विसं २०७६ को उपचुनावमा बागलुङ–२ (२) बाट चुनाव लड्नुभएको थियो । तेस्रोपटकमा जित निकाल्ने दाउसहित उहाँ चुनावी मैदानमा हुनुहुन्छ । दुई–दुई पटकसम्म जसले हराए उनै दलको साथ लिएर शेरचन स्वतन्त्र उम्मेदवार घर्तीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अघिल्लो चुनावमा वाम गठबन्धनको एक्लै सामना गर्नुपर्दा उहाँ पराजित हुनुपरेको थियो। यसपालि शेरचनले चुनाव क्षेत्र पनि बदल्नुभएको छ । बागलुङ–२ (२) का शेरचन (१) बाट चुनाव लड्दै हुनुहुन्छ। एमालेले आफ्नै उम्मेदवार उठाउन नसकेपछि शेरचनका विरुद्ध स्वतन्त्र उम्मेदवार घर्तीलाई समर्थन गरेको छ । लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट हार्नुभएको थियो ।

विसं २०७४ को स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र)बाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ । विसं २०६२ मा काठमाडौँको ताहचल क्याम्पसको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट जिल्ला पार्टीको नेतृत्वसम्म आइपुग्नुभएका शेरचन र स्वतन्त्र उम्मेदवार घर्ती एकार्काका लागि कति चुनौती बन्ने हुन् त्यो त हेर्न बाँकी छ । दुई जना मात्र उम्मेदवार रहेकाले सो क्षेत्रको चुनावलाई चासोपूर्वक हेरिएको छ । गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिका सो क्षेत्रमा पर्छन् । त्यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन् । बागलुङ–२ (२) मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवार नयाँ छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने कांग्रेसका द्रोर्ण कुँवर र एमालेका लक्ष्मण पुन चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस महाधिवेशन प्रतिनिधि कुँवर र एमालेका जिल्ला उपाध्यक्ष पुन दुवै पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बन्नुभएको हो । कुँवरलाई पाँच दलीय गठबन्धनको साथ छ भने पुन एमालेको आफ्नै शक्तिका आडमा जित्ने रणनीतिमा हुनुहुन्छ । सो क्षेत्रमा विसं २०७४ को चुनाव र त्यसपछिको उपचुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जितेका थिए । वाम गठबन्धनसामु त्यतिबेला काँग्रेस कमजोर देखिएको थियो । अहिले जिल्लाका निर्णायक दुई वाम शक्ति माओवादी केन्द्र र जनमोर्चालगायतसँग मिलेर कांग्रेस चुनाव लड्दैछ । एकचालीस हजार दुई सय २७ मतदाता रहेको सो क्षेत्रमा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्छ । जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा भने गठबन्धन र एमालेका उम्मेदवारबीच हुनेछ ।


149 Views

Comments