नारायणी तटबन्धनको काम सुरु

Bhugolpark

७ बैशाख, २०८१,०५:३६

नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भूभागमा काम गरिँदै छ।

असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ । अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्का एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्को एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ । असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसैबेलाको अर्को एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ । तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ । तेस्रो खण्डको काम सुरु गरिएको छ। उहाँले अन्य दुई खण्डको काम छिट्टै सुरु हुने बताउनुभयो। सम्झौता भइसकेका तीन खण्ड पाँच किलोमिटर लम्बाइका दरले रहेका छन् । गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाटसम्मको सात किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ । यसका लागि रु २३ करोडमा यसै महिना ठेक्का सम्झौता भएको हो ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ । नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो । बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाइएको छ । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकै पटक रु पाँच अर्बको काम अघि बढाइएको हो । जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम हुँदैछ । आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ । गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार चार सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ ।

बर्सातको समयमा नदी कटान धेरै भएपछि दाहाल प्रमुख भएयता विगत पाँच वर्षदेखि नदी तटबन्धनको मुख्य एजेण्डा लिएर आउनुभएको थियो । यसै एजेण्डा अध्यक्ष दाहालले पनि प्राथमिकतामा राख्नुभएको थियो । सरकारका मन्त्री, सचिव र सम्बन्धित विभागका महानिर्देशकको उपस्थितिमा भरतपुर महानगरपालिकाले यो आयोजनालाई प्राथमिकतामा राखेर कार्यक्रमसमेत गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको बताउनुभयो । यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उहाँको भनाइ छ।


111 Views

Comments