जग्गा विवादले किरियापुत्रीमाथि आक्रमण, दुईजना प्रहरी नियन्त्रणमा

Bhugolpark

१० भाद्र, २०८२,१२:५५

विराटनगर । विराटनगरमा जग्गा सम्बन्धी विवादका कारण किरियापुत्रीमाथि आक्रमण भएको छ । पीडामा रहेका बेला थप पीडा थपिएको पीडितले बताएका छन् । 


विराटनगर–११ मा रहेको कित्ता नम्बर ८८ को एक कठ्ठा जग्गामा विवाद थियो । ३५ वर्षदेखिको विवाद झिकेर त्यही जग्गामा बस्दै आएका हरिनारायण कामतको परिवारमाथि आक्रमण भएको हो । 

परिवारलाई उक्त जग्गाबाट हटाउन पटक–पटक धम्की दिने र मानसिक तनाव दिने गरेको परिवारको आरोप छ ।


विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरियापुत्री बसिरहेका परिवारमाथि मध्यरातमा हमला भएको हो । सोमबार राति करिब ११ बजेपछि मृतकको घरमा किरियापुत्री बसिरहेका अवस्थामा स्थानीय प्रमोद सहनी र सुनील सहनी मदिरा सेवन गरेर घरभित्र पसेर आक्रमण गरेको पीडितहरूले बताएका छन् । मृतकका श्रीमान् हरिनारायण कामत र उनका छोराहरू किरण कामत, सन्तोष कामत, छोरी काली कामतलाई आक्रमणकारीले कुटपिट गरी घाइते बनाएका छन् । किरण सात दिनदेखि आमाको किरियामा थिए ।


मध्यरातमा भएको घटनापछि पीडित परिवारले तत्काल घरनजिकै रहेको प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनासाथ प्रहरी चौकी बखरीबाट वरिष्ठ प्रहरी नायब निरीक्षकको टोली घटनास्थल पुगेको थियो । तर, प्रहरी आइपुग्नुअघि नै आक्रमणकारीद्वय प्रमोद र सुनील फरार भइसकेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा थप टोली आयो र राति १ बजे सुनीलको घरमा छापा मार्‍यो । तर, उनी त्यहाँ फेला परेनन् ।


मंगलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा दुवै आक्रमणकारीविरुद्ध अभद्र व्यावहारको मुद्दामा किटानी जाहेरी दिएका छन् । उजुरी दर्ता भएलगत्तै मोरङ प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

 


15 Views

Comments