कुवेत मदिरा प्रकरण– ११ नेपाली अझै आईसीयूमा, डिस्चार्ज भएका पक्राउ

Bhugolpark

२ भाद्र, २०८२,११:४६

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवन गरी अस्पताल भर्ना भएकामध्ये ११ जना नेपाली अझै आईसीयूमा रहेका छन् । आईसीयूमा उपचारत अधिकांशको अवस्था गम्भीर रहेको छ ।


“कुवेतका सात वटा अस्पतालमा हाल २६ नेपालीको उपचार भइरहेको छ । उपचारतमध्ये ११ जना आईसीयूमा रहेका छन्, उनीहरुको अवस्था गम्भीर छ,” कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले बाह्रखरीसँग भने ।


गत साता विषाक्त मदिरा सेवन गरेका १६० जना आप्रवासी कामदार अस्पताल भर्ना भएका थिए, जसमा ५० जनाभन्दा बढी नेपाली रहेका थिए । विषाक्त मदिरा सेवन गर्ने २३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १२ जना नेपाली रहेको पुष्ट भएको दूतावासले जनाएको छ ।


नेपाल पत्रकार महासंघ कुवेत शाखाका भने एक विज्ञप्ति जारी गर्दै विषाक्त मदिरा सेवन गर्दा १६ जना नेपालीको मृत्यु भएको जनाएको छ । कुवेत सरकारले कुवेतमा मदिरा उत्पादन, बिक्री र सेवन गर्न निषेध गरेको छ । गिरोहहरुले लुकिछिपी मदिरा उत्पादन गरी बिक्री गर्दै आएका छन् । 


निषेध गरिएको वस्तु सेवन गरेका कारण अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई कुवेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।“डिस्चार्ज भएकाहरु अहिले अनुसन्धानमा हुनुहुन्छ,” श्रम सहचारी आचार्यले भने ।  कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन र बिक्री गरेको आरोपमा ६७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा तीन जना नेपाली रहेको जनाइएको छ । 


16 Views

Comments