रूस र इरानबाट तेल नकिन्न अमेरिकाको आग्रह चीनले गर्‍यो ठाडै अस्वीकार

Bhugolpark

१९ श्रावण, २०८२,११:३७

काठमाडौं :

अमेरिकाले रूस र इरानबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि कडाइ गरिरहेको छ । तर, चीनले अमेरिकाको आग्रहलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । चीन र अमेरिकाबीच व्यापार सम्झौतासम्बन्धी वार्ता जारी छ । दुवै देशबीच चाँडै सम्झौता हुने अपेक्षा गरिएको छ । तर, रूस र इरानबाट तेल खरिद गर्ने विषयमा चीनले कडा अडान लिएको छ ।

चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा सेयर गरेको एउटा पोस्टमा लेखिएको छ “चीनले सधैँ राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्नो ऊर्जा आवश्यकताको आपूर्ति सुनिश्चित गर्नेछ ।” रूस र इरानबाट तेल खरिद गरेमा चीनमाथि १०० प्रतिशत कर लगाउने अमेरिकाले धम्की दिएको छ । यसबारे चीनको विदेश मन्त्रालयले भनेको छ, “दबाब र जबर्जस्तीबाट केही हासिल हुँदैन । चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकास हितको दृढतापूर्वक रक्षा गर्नेछ ।”


दुवै देशका अधिकारी स्टकहोममा व्यापार सम्झौतालाई अन्तिम रूप दिन जुटेका बेला चीनको यो प्रतिक्रिया सार्वजनिक भएको हो । चीनको कडा अडानमाथि कटाक्ष गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, “जब रूसबाट तेल खरिदको कुरा आउँछ, तब चीन आफ्नो सार्वभौमसत्तालाई धेरै गम्भीरतापूर्वक लिन्छ ।”


18 Views

Comments