शेखर कोइराला भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो

Bhugolpark

१४ श्रावण, २०८२,१३:४५

१४ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुन: राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् ।


बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’


उनले आफू राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीसँग बेला बेला भेट भइरहेने बताए । सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेको उनको भनाइ थियो । ‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ,’ कोइरालाले भने, ‘त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ ।’


उनले थप भने, ‘राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो । ’संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको पनि बताए ।


‘राष्ट्रपतिज्यूले एउटा ऐनलाई फेरि संसद्मा फर्काउनुभयो । यो गम्भीर विषय हो । संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्तिहरू त्यसको सदस्य हुनुहुन्छ,’ कोइरालाले भने, ‘हामीले जुन लगेका थियौं, त्यो पास गरिदिएको भए हुन्थ्यो । त्यो पास नगरी अपर हाउसले ३ जना भइदिए बहुमत हुन्छ भनिदियो । यो लोकतन्त्रका लागि अत्यन्तै खतरानाक कुरा छ ।’


‘सरकार ०८४ सम्मै चलोस्’


उनले वर्तमान सरकार ०८४ सम्म नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘हामी चाहन्छौं यो सरकार ०८४ सम्म जाओस् । तर सरकार राम्रोसँग चलोस्,’ उनले भनेका छन् ।

कोइरालाका अनुसार वर्तमान सरकार राम्रोसँग चल्न भने सकेको छैन । ‘यो राम्रोसँग चल्न सकेको छैन,’ उनले भने ।  सुशासनको विषमया आफूले जति अरु कसैले पनि नबोलेको उनले बताए । ‘सुशासनको कुरामा मैले जति बोलेको छु अरु कसैले बोलेको छैन । भ्रष्टाचारका कुरामा होस् वा लिचीबारीको कुरा होस् । राजनीति गर्ने व्यक्तिमा केही न केही त नैतिकता हुनुपर्छ,’ उनले भने । उनले सरकार परिवर्तन गर्नुको कारण जनतालाई पुष्टि गर्नुपर्ने पनि बताए ।


‘जुन कारणले सरकार बदल्यौं त्यो कारण जनतालाई पुष्टि गर्न सक्नुपर्छ । अनि मात्रै हामी सफल हुन्छौं । अहिलेसम्म त्यो पुष्टि गर्न सकेका छैनौं,’ कोइरालाले भने । भूमिसम्बन्धी विधेयक संसदीय समितिमा छलफल भएर निर्णय होस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए । ‘भूमि विधेयक एमालेले आजको आजै संसद्बाट पास गरौं भन्यो । हाम्रा महामन्त्रीद्वय र अन्य सांसदहरूले संशोधन प्रस्ताव हाल्नुभएको छ,’ उनले भने, ‘यो विधेयक समितिमा गएर छलफल होस् र जे निर्णय हुन्छ त्यसलाई हामी मानौं भन्ने हाम्रो भनाइ हो ।’


95 Views

Comments