बागमती कांग्रेस संसदीय नेताका लागि बानियाँ र बहादुरसिंह उम्मेदवार

Bhugolpark

१४ श्रावण, २०८२,११:३९

१४ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका हुन् । यी दुवै सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।


कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो । कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए । दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव पास भए पनि लामा मुख्यमन्त्री पदमा कायम छन् ।


हिजो गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता चयन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । ११ बजेसम्म तोकिएको समयावधिमा बानियाँ र लामाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।


उम्मेदवारको प्रारम्भिक नामावली ११:३० बजे प्रकाशित गरिनेछ । उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने र मतदान २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जानकारी गराएको छ ।


85 Views

Comments