बागमती प्रदेशका खानेपानी मन्त्री खड्काको राजीनामा

Bhugolpark

१३ श्रावण, २०८२,११:३६

१२ साउन, हेटाैंडा । बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।


खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले आज साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।


खड्काले राजीनामा दिएसँगै लामाविरूद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदकाे संख्या २२ पुगेकाे छ । यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

बागमतीको बजेटबाट असन्तुष्ट थिए देउवा, बानियाँले छोपे मौका

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि साेही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएकाे पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटालाई पठाएका थिए ।


बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदकाे अविश्वास प्रस्तावकाे सामना गरिरहेका छन् । कांग्रेस संसदीय दलभित्रकाे विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले साेमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन् । कांग्रेस संसदीय दलकाे १ बजेका लागि बाेलाइएकाे बैठक ४ बजेसम्म बस्न सकेकाे थिएन ।


94 Views

Comments