आज देखि सुरु भयो "गुँला पर्व"

Bhugolpark

९ श्रावण, २०८२,१२:४०

काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ। वर्षभर दिवंगत भएकाको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ।गुँला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवा: पर्व मानिन्छ।

यस पर्वलाई गुँला किन भनियो भन्ने बारेमा धेरै मतभेद तथा अख्यानहरु रहेको पाइन्छ। विभिन्न इतिहासकारका अनुसार गुँ भनेको नेपालभाषामा डाँडा हो, र ला भनेको महिना हो। यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने भएकोले गुँला भनिएको बताउँछन्।

यसै कुरामा संस्कृतविदहरुका अनुसार श्री स्वयम्भू महाचैत्यको सेवा गर्ने प्रचलन आदिकाल देखि नै चल्दै आएकोले यस्तो तर्क नमिल्ने बताउँछन्। धर्म सञ्चय गर्ने महिनाका रुपमा यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला पनि लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ।

नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ। प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट सर्वसाधारण आउने गर्छन्।


75 Views

Comments