मानवीय संकट चरममा, ‘भोकमरीले मर्ने अवस्था’ मा हजारौं
गाजा सहर, जुलाई २१ — इस्रायली सेनाले संयुक्त राष्ट्रसंघ (UN) को सहायता ट्रक लिन जम्मा भएका सर्वसाधारणमाथि गोली चलाउँदा कम्तिमा ६७ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यो घटना गाजाको उत्तर क्षेत्रमा भएको हो, जहाँ झण्डै २५ वटा सहायता ट्रक गएका थिए।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार उक्त सहायता ट्रकहरू जब इजरायलको चेकपोइन्ट पार गर्दै गाजामा प्रवेश गरे, तब त्यहाँ ठूलो भिड जम्मा भएको थियो। भिडमा रहेका धेरै मानिसहरू भोकले कमजोर भइसकेका थिए, जसलाई लक्ष्य गरेर गोली चलाइएको बताइएको छ।
"भोक र नुनपानीमै बाँचेका छन् मानिस"
एक महिलाले बीबीसी अरबीसँग भावुक हुँदै भनिन्, “पूरै जनसंख्या नै मर्दैछ। बच्चाहरू भोकले मरेका छन्, नुनपानी बाहेक केही छैन।" शिफा अस्पतालका मेडिकल निर्देशक डा. हसन अल-शाएरले अस्पताल ‘अत्यधिक भीड र क्षमताभन्दा बाहिर’ पुगेको जानकारी दिए।
इस्रायली पक्षको प्रतिक्रिया
इस्रायली डिफेन्स फोर्स (IDF) ले भने ‘सिधा खतरा हटाउन’ चेतावनी स्वरूप गोली चलाइएको दाबी गर्दै मृतकको संख्या ‘वास्तविक नभएको’ प्रतिक्रिया दिएको छ। तर, घटनास्थलका प्रत्यक्षदर्शी कासिम अबु खाटेरले भने, “सामान लिन गएका हामीलाई जङ्गलका जनावर झैं सिकार गरे। ट्याङ्कहरूबाट खोलामा जस्तै गोला बर्साइयो, स्नाइपरले मान्छेहरूको सिधा गोली हाने।”
हर दिन भोकको कारण मानिसको मृत्यु
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार २४ घण्टाभित्र ‘भोकमरीकै कारण’ १८ जनाको मृत्यु भएको पुष्टि गर्यो। UN का अनुसार, गाजामा अहिले ९० हजारभन्दा बढी महिला र बालबालिका कुपोषणको चरम अवस्थामा छन्।
पुनः विस्थापनको भय
यसैबीच, इस्रायली सेनाले गाजाको केन्द्रीय क्षेत्र देइर अल-बलाह खाली गर्न आदेश दिएको छ। यहाँ अहिलेसम्म जमीनी कारवाही नभएको भए पनि हवाई आक्रमण भइरहेका छन्। यस क्षेत्रलाई इस्रायली सेना ‘हामासले बन्धक राखेको हुनसक्ने’ भन्दै संवेदनशील क्षेत्र मानेको छ।
यो आदेशले लाखौं विस्थापितहरू फेरि एकपटक भाग्न बाध्य भएका छन्। धेरैजसोले टेन्टमा जीवन बिताइरहेका छन्, खाना, पानी र औषधिको चरम अभाव झेल्दै।
पोप लियो XIV को अपिल
क्याथोलिक धर्मगुरु पोप लियो चौधौंले युद्ध तत्काल अन्त्य गर्न आह्वान गर्दै “निर्दोष नागरिकमाथिको अन्धाधुन्द आक्रमण” रोकिनुपर्ने बताए। केही दिनअघि इजरायली आक्रमणमा गाजाको एक मात्र क्याथोलिक चर्च नष्ट भएको थियो, जसप्रति प्रधानमन्त्री नेतन्याहुले 'गम्भीर दु:ख व्यक्त' गरेका थिए।
पृष्ठभूमि
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएका आक्रमणमा १,२०० जनाको मृत्यु भएपछि इजरायले गाजामा कारवाही सुरु गरेको हो। त्यसयता गाजामा ५८,८९५ भन्दा बढीको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायहरूले गाजाको स्वास्थ्य मन्त्रालयका तथ्यांकलाई नै ‘सबैभन्दा विश्वसनीय’ मान्ने गरेका छन्।
Comments