मुस्ताङ, १७ असारः कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय बस्ती उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीको तटीय क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा र गेग्र्यानले बर्सेनि नदी उकास वृद्धि हुँदै जाँदा यहाँका तीन पालिकाका अधिकांश तटीय बस्तीले वर्षौंवर्षदेखि विपद् जोखिमको सामना गर्दै आइरहेका छन् ।
मुस्ताङस्थित कालीगण्डकी नदी क्षेत्रको तटीय बस्ती तथा खेतीयोग्य जग्गा सरक्षणका लागि सङ्घीय सरकारको विशेष अनुदानबाट बहुवर्षीय बृहत् कालीगण्डकी नदी नियन्त्रण योजना हालै सम्पन्न भएको छ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि घरपझोङ हुँदै थासाङ गाउँपालिका–३ लेते धम्पुसम्मको करिब ६५ किलोमिटर दूरीमा एक दर्जन तटीय बस्ती जोगाउन कालीगण्डकी बृहत् तटबन्ध निर्माण गरिएको हो ।
सङ्घीय योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालय मुस्ताङले कार्यान्वयन गर्ने गरी यहाँको एक दर्जन बढी तटीय बस्ती जोगाउन तीन हजार ४१० मिटर लामो विभिन्न प्रकृतिको तटबन्ध निर्माण गरिएको हो । यसका लागि मुस्ताङको वारागुङ—३ छुसाङदेखि घरपझोङ—३ स्याङसम्मको प्याकेज एक र मुस्ताङको घरपझोङ–२ मार्फादेखि थासाङ–३ लेते धम्पुसम्मको प्याकेज दुईको एउटै निर्माण कम्पनीले तटबन्ध निर्माणसम्पन्न गरेको खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख सञ्जय कोइरालाले जानकारी दिनुभयो ।
कालीगण्डकी बस्ती संरक्षणका लागि कालीगण्डकी नदी नियन्त्रण योजनाको सम्झौताअनुसार ग्याबिन, आरसिसी, प्लम्प कङ्क्रिट र ठूल्ठूला ढुङ्गा बिच्छ्याएर बिग बोल्डिङ स्टेकिङ तटबन्ध निर्माण गरिएको कार्यालय प्रमुख कोइरालाले उल्लेख गर्नुभयो । यहाँस्थित कालीगण्डकी तटीय बस्ती संरक्षणका लागि पहिलो र दोस्रो प्याकेज गरी दुवैको अमित बिल्डर्सले ठेक्का पाएको थियो ।
प्याकेज एकअन्तर्गत मुस्ताङको छुसाङदेखि घरपझोङ–३ स्याङसम्मको दूरीमा तटबन्ध निर्माण गर्न रु नौ करोड १२ लाख लागतमा विसं २०८१ असार ३ मा अमित बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । यहाँ शत्प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ९८ दशमलव ७९ प्रतिशत रहेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
कालीगण्डकी तटीय बस्ती संरक्षणका लागि प्याकेज एकअन्तर्गत वारागुङ मुक्तिक्षेत्रको छुसाङमा २३१ मिटर, तिरीमा ५२२ मिटर, एक्लेभट्टीमा २६५ मिटर, पान्डा खोलामा ६० मिटर र घरपझोङ–३ स्याङको कालीगण्डकी तटमा ५४९ मिटर गरी एक हजार ६२७ मिटर लामो तटबन्ध निर्माणसम्पन्न भएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो ।
यसैगरी, सङ्घीय योजनाअन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ सबडिभिजन कार्यालयले प्याकेज दुईको बृहत् तटबन्ध निर्माणसम्पन्न भइसकेको जनाएको छ । प्याकेज दुईका लागि अमित बिल्डर्स निर्माण कम्पनीले रु नौ करोड २६ लाख लागतमा तटबन्धको ठेक्का सम्झौता गरेको थियो । प्याकेज दुईमा घरपझोङ–२ मार्फादेखि थासाङ–३ धम्पुसम्मको दूरीमा शत्प्रतिशत भौतिक ९५ दशमलव ९५ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख कोइरालाको भनाइ छ ।
यहाँस्थित प्याकेज दुई तटबन्ध निर्माण योजनाअन्तर्गत मार्फामा १११ मिटर, टुकुचेमा ७१७ मिटर, खन्तीमा ९०९ मिटर, सौरुमा ६० मिटर, सिर्खुममा २४६ मिटर, कोखेठाँटीमा २४४ मिटर, छाक्ताङमा १७१ मिटर र थासाङको धम्पुमा ४२ मिटर गरी कुल एक हजार ७८३ मिटर लामो तटबन्ध निर्माणसम्पन्न भएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो ।
कालीगण्डकी नदी नियन्त्रण योजनाअन्तर्गत सदरमुकाम जोमसोममा अन्य सरकारी निकायले तटबन्ध निर्माण गरिसकेकाले यस कार्यालयबाट तटबन्ध निर्माण योजनामा समावेश नभएको कार्यालय प्रमुख कोइरालाले स्पष्ट पार्नुभयो ।
जोमसोममा राष्ट्रिय योजना आयोगको बजेटबाट घरपझोङ गाउँपालिकाले कार्यान्वयन गर्नेगरी यसअघि नै तटबन्ध निर्माण गरिसकेको छ ।
यसैगरी, सङ्घीय सरकारको सिँचाइ विभाग नदी नियन्त्रण महाशाखाअन्तर्गत जोमसोम बजार संरक्षणका लागि नदी नियन्त्रण तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।
यस्तै, जोमसोम विमानस्थल संरक्षणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कालीगण्डकी नदीमा विमानस्थल संरक्षणका लागि आवश्यक आरसिसी तटबन्ध निर्माण गरिसकेको छ ।
Comments