पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

Bhugolpark

१६ असार, २०८२,१२:१५

मान्म (कालीकोट), १६ असारः पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो । 


आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएका कारणले राजमार्ग अवरुद्ध भएको हो । रातिदेखि अत्यधिक वर्षा भएकाले गगने खोलामा पहिरो खसेको अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो । “गाडी चल्न सक्ने अवस्था छैन, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुङ्गा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ”, उहाँले भन्नुभयो ।


पहिरो बगिरहेकाले काम गर्न पनि कठिन भएको प्रहरी रावतले जानकारी दिनुभयो । “सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ,” उहाँले भन्नुभयो, “सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ ।”


सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।


160 Views

Comments