सिमरन शेरचन: नेपाली LGBTIQ+ समुदायकी एक साहसी र गौरवशाली ट्रान्समहिला

Bhugolpark

३२ जेष्ठ, २०८२,१३:५५

काठमाडौँ, असार १ - भूगोलपार्क स्टुडियोको पोडकास्ट कार्यक्रममा हामीले सिमरन शेरचनलाई स्वागत गर्ने अवसर पायौं। उनी एक ट्रान्सवुमन, मानवअधिकारकर्मी तथा LGBTIQ+ समुदायकी अग्रणी प्रतिनिधि हुनुहुन्छ।

सिमरन हाल ब्लु डायमण्ड सोसाइटी (BDS) की उपाध्यक्ष हुनुहुन्छ र नेपाल यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ (FSGMN) की राष्ट्रिय कार्यक्रम संयोजकको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले ट्रान्सवुमन, LGBTIQ व्यक्तिहरू र महिला यौनकर्मीहरूको अधिकारका लागि लगातार आवाज उठाउँदै आउनुभएको छ।

पहिचानको यात्रा र संघर्ष

सिमरनले आफ्नो व्यक्तिगत जीवनयात्रा पोडकास्टमा बाँड्नुभयो। बाल्यकाल सुखद रह्यो - उहाँलाई परिवारको पहिलो छोराको रूपमा जन्मिएकोमा परिवारले गर्व गरेका थिए। तर किशोरावस्थामा पुगेसँगै, उहाँको भित्र कतै केही मिलेको छैन भन्ने महसुस हुन थाल्यो। विस्तारै उहाँले आफू महिला भएको बुझ्नुभयो।

उहाँको परिवारले अन्ततः उहाँको पहिचानलाई स्वीकारे पनि समाजले स्वीकार गरेन। परिवारमाथि समाजको दवाव असह्य हुन थाल्यो। उहाँ चाहन्दैन थिए कि उहाँका कारणले आमाबुबा र भाइबहिनीलाई दुख नहोस् भनेर उहाँ आफैं घर छोड्ने निर्णय गरेँ। “त्यो मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो," सिमरनले भन्नुभयो।

नेपालको प्रगति तर अझ धेरै बाँकी छ 

सिमरनले गर्वका साथ भन्नुभयो, "म विदेशमा होइन, नेपालमा जन्मिएकोमा गर्व गर्छु - कम्तीमा यहाँ हामीलाई अपराधी भनेर हेरिन्न।" तर उहाँले नेपालमा अझ धेरै प्रगति आवश्यक रहेको पनि बताउनुभयो।

नेपालमा ‘अन्य’ भनेर नागरिकता दिइए पनि त्यो केवल पहिचानको एउटा औपचारिकता मात्र हो; व्यवहारमा अझै धेरै अधिकार र अवसरबाट समुदाय वञ्चित छन्। अनुमानित पाँच लाखको हाराहारीमा रहेको LGBTIQ+ जनसंख्यामध्ये धेरैजसोले आफूलाई पुरुष वा महिला भनेर नै दर्ता गराएका छन्, जसका कारण आधिकारिक तथ्यांकमा हाम्रो उपस्थिति झल्किँदैन। तथ्यांकमा त हामी जम्मा २९२८ जना मात्र देखिन्छौं। "धेरैजसो मानिसहरु LGBTIQ+ समुदायलाई तेस्रोलिङ्गी मात्र भनेर बुझ्दछन् जुन गलत हो, सामान्य रूपमा तेस्रोलिङ्गी, ट्रान्सजेन्डर व्यक्ति कम मात्रामा समयौनिकहरूको बारेमा मात्र जानकार छन् तर हाम्रो समाजमा अन्य धेरै लैङ्गिक यौनिक पहिचान हरू पनि छन् जुन ओझेलमा छन् । अन्तरलिङ्गी व्यक्ति हरूको कुरा त अझ बृहत रुपमा छलफल पनि हुन सकिरहेको छैन।" उहाँले भन्नुभयो।

रङ्गीन इन्द्रेणीभित्रका आँशुहरू

"हामीलाई रङ्गीन इन्द्रेणीजस्तो खुसी देखिन्छ," उहाँ भन्छिन्, "तर त्यो इन्द्रेणीभित्र रातको आँशुहरू पनि छन् जसलाई कसैले देख्दैन।"

सिमरनका अनुसार, उनी हरेक दिन प्राइडको रूपमा मनाउँछिन् — जुन महिनामा मात्रै होइन, बर्षका ३६५ दिन। "हाम्रो जीवन कुनै एउटा महिनामा मात्र सीमित छैन, हामी प्रत्येक दिन आफूलाई स्वीकार गर्दै बाँचिरहेका छौं।"

उहाँले समाजमा विवाह र सन्तानलाई मात्र परिवारको निरन्तरता मानिने मानसिकताको आलोचना गर्नुभयो। "हाम्रो समुदायले परम्परागत विवाह गर्न सक्दैन भनेर समाजले हाम्रो परिवार हुने सम्भावनालाई नै नकार्छ, तर परिवार बनाउने धेरै वैकल्पिक उपायहरू छन्, जुन समाज हेर्नै चाहँदैन।"

एक्लोपन त सधैंको साथि 

कोभिड महामारीको बेला धेरै मानिस इसोलेशनको पीडामा थिए। तर सिमरनको भनाइमा, LGBTIQ+ समुदायको जीवन त पहिल्यैदेखि इसोलेशनमा बाँधिएको छ।

"कतिपयले ब्लु डायमण्ड सोसाइटीजस्ता संस्थासँग आबद्ध भएर सामाजिक कार्य वा अन्य व्यवसायमार्फत अगाडि बढ्न थालेका छन्, तर धेरै अझै समाजको डर र जानकारीको अभावमा कष्टकार जीवन बाचिरहेकाछन्।"

समान योग्यता र सीप भए पनि रोजगारीका अवसर अझै सीमित छन्। "हामीले कुनै व्यवसाय सुरु गर्यौं भने हाम्रो सेवामा केवल हाम्रो समुदायका मानिसहरू मात्र आउँछन्, अन्यहरूले सेवा लिन डर मान्छन्। यस्तो अवस्थामा व्यवसाय टिक्न गाह्रो हुन्छ र जीविकोपार्जनमा असर पार्छ ।"

हामी सबै मानव हौं

अन्त्यमा उहाँ भन्नुहुन्छ सबैले आफ्नो पहिचान अनुरुप हरेक दिन गौरवको साथ बाँच्ने माहोल मिल्नुपर्छ र मिलाउनुपर्छ । सिमरनको कथा प्रेरणादायक मात्र होइन, आँखामै आँशु ल्याउने खालको छ। हामीले बुझ्नै पर्ने कुरा के हो भने - हामी सबैभन्दा पहिला मानव हौं, त्यसपछि नेपाली नागरिक। त्यसैले सबैलाई समान अधिकार, समान सम्मान र समान अवसर दिनुपर्छ।


316 Views

Comments