एसईई नतिजा एक महिना ढिला हुने सम्भावना, कपी जाँचमा ३२ दिनको ढिलाइ

Bhugolpark

२५ जेष्ठ, २०८२,१०:३३

काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकाहरू मध्ये करिब पाँच लाख विद्यार्थी हाल नतिजाको प्रतीक्षामा छन्। तर, यसपटक नतिजा समयमा सार्वजनिक हुनेमा अन्योल देखिएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार, देशभरका ५० वटा उत्तरपुस्तिका संकलन केन्द्रमध्ये अधिकांशबाट विवरण आइपुगेका छैनन्। कपी जाँचमा भएको ढिलाइको मुख्य कारण भनेको शिक्षक आन्दोलन हो। यसले गर्दा नतिजा अघिल्ला वर्षहरूको तुलनामा ढिलो हुने निश्चितजस्तै देखिन्छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, शिक्षक आन्दोलनले गर्दा कपी जाँचमा ३२ दिनको ढिलाइ भएको छ। बोर्डले भने अनुसार सबै केन्द्रबाट विवरण प्राप्त भएपछि मात्र प्रक्रिया सुरु हुन्छ, जसमा अझै ३५ दिन लाग्नेछ।

परीक्षा नियन्त्रक गणेश प्रसाद भट्टराईले सबै विवरण आएपछि ३६ दिनभित्र नतिजा प्रकाशित गर्न सकिने बताएका छन्। जाँचको काम अन्तरप्रदेशीय भएकाले मौसम र यातायातको अवस्थाले पनि असर पार्ने उल्लेख गरिएको छ।

गत वर्ष शिक्षकहरूले शैक्षिक सत्र सकिएपछि दिनको ७ घण्टा समय दिएर कपी जाँच गरेका थिए, जहाँ झन्डै ३० हजार शिक्षक खटिएका थिए। तर यसपटक सत्र सुरु भइसकेकोले शिक्षकहरूले पढाउने जिम्मेवारीसँगै कपी जाँचसमेत गर्नु परिरहेको छ।

महासंघ: नतिजा समयमै ल्याउने तयारीमा छौं

शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने शिक्षकहरू अहिले तीव्र गतिमा कपी जाँचमा जुटेका छन् र नतिजा अघिल्ला वर्षहरूकै जस्तो समयमा प्रकाशित गर्ने प्रयास भइरहेको दाबी गरेका छन्। विद्यालय समय बाहिर पनि शिक्षकहरूले समय छुट्याएर जाँच गरिरहेको उनले बताएका छन्।

पछिल्लो वर्षको नतिजा असार १४ गते सार्वजनिक गरिएको थियो। यो वर्ष ५ लाख १५ हजार ७१ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन्, जसमा नियमित, ग्रेडवृद्धि र प्राविधिक धार समेटिएका छन्। चैत ७ देखि १९ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो।

लेटर ग्रेडिङ प्रणाली अन्तर्गत मूल्यांकन

एसईईको मूल्यांकन अहिले ‘लेटर ग्रेडिङ’ प्रणालीमार्फत गरिन्छ, जुन गत वर्षदेखि लागू भएको हो। यसअनुसार, विद्यार्थीले सैद्धान्तिकतर्फ कम्तीमा ३५% र आन्तरिक मूल्यांकनतर्फ कम्तीमा ४०% अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ।

परीक्षाको प्राप्तांक अनुसार विद्यार्थीलाई आठवटा ग्रेडमा विभाजन गरिन्छ:

९०% वा माथि: GPA 4.0 (A+)

८०–९०%: GPA 3.6 (A)

७०–८०%: GPA 3.2 (B+)

६०–७०%: GPA 2.8 (B)

५०–६०%: GPA 2.4 (C+)

४०–५०%: GPA 2.0 (C)

३५–४०%: GPA 1.6 (D)

३५% भन्दा कम: Non-graded

विद्यार्थीले मूल प्रमाणपत्र प्राप्त गर्न प्रत्येक विषयमा न्यूनतम सी (आन्तरिकतर्फ) र डी (सैद्धान्तिकतर्फ) ग्रेड अनिवार्य रूपमा पाउनुपर्नेछ। प्रमाणपत्र नपाएसम्म उच्च शिक्षामा नाम लेखाउन पाइँदैन।

यदि कुनै विद्यार्थीले दुई विषयमा नन ग्रेडेड भएमा उसले सोही वर्ष ग्रेडवृद्धि परीक्षा दिन पाउनेछ। दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएमा उसले अर्को वर्ष एसईई पुन: सम्पूर्ण विषयमा दिनुपर्नेछ।

पछिल्लो वर्ष ५२% विद्यार्थी नन ग्रेडेड भएपछि सबैलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइएको थियो।



79 Views

Comments