राष्ट्रपति भण्डारीसँग आयोगका पदाधिकारीको भेट

Bhugolpark

८ बैशाख, २०८१,०५:४७

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यहरूबारे जानकारी गराउनु भएको थियो ।

भेटका अवसरमा राष्ट्रपतिबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा.जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलको सहभागिता रहेको थियो ।


196 Views

Comments