काठमाडौं :
युक्रेनमाथि रूसले लगातार बमबारी गरिरहँदा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तीव्र प्रतिक्रिया जनाएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘सनकी’को संज्ञा दिँदै उनको आलोचना गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको जानकारी दिएका छन् । उनले लेखेका छन्, “रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैँ राम्रो सम्बन्ध रहँदै आएको हो, तर अहिले उनलाई के भएको हो, बुझ्न सकिएको छैन ।”
पुटिनले निर्दोष नागरिकमाथि हमला गरिरहेको आरोप लगाउँदै ट्रम्पले भनेका छन्, “उनी केवल सैनिकहरूलाई होइन, सर्वसाधारण नागरिकलाई पनि मारिरहेका छन् । युक्रेनी शहरहरूमा मिसाइल र ड्रोन आक्रमण भइरहेको छ, त्यो पनि कुनै कारणबिनै ।”
ट्रम्पले पुटिन सम्पूर्ण युक्रेन कब्जा गर्न चाहन्छन् भन्ने आरोप समेत लगाएका छन् । “मैले सधैँ भनेको छु कि पुटिन केवल युक्रेनको एक भाग होइन, पूरै युक्रेन चाहन्छन् । यदि उनले त्यसो गरे भने, त्यसले रुसकै पतन निम्त्याउनेछ, जुन सत्य हुन सक्छ,” ट्रम्पले चेतावनी दिएका छन् ।
यसै सन्दर्भमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, “जेलेन्स्कीको बोलीले देशको हितमा काम गरिरहेको छैन । उनी जे बोल्छन्, त्यही समस्या निम्त्याइरहेको छ । यो मलाई मन परेको छैन, त्यसैले त्यो रोक्नु नै राम्रो हुन्छ ।”
जेलेन्स्कीले यसअघि अमेरिकाको मौनताले पुटिनलाई अझ हिंसात्मक बन्न हौसला मिलेको बताएका थिए । त्यसको जवाफस्वरूप ट्रम्पको यो आलोचना आएको हो ।
ट्रम्पले आफ्नो पोस्टमा अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेनलाई पनि निशाना बनाउँदै भनेका छन्, “यो त्यस्तो युद्ध हो जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरु हुने थिएन । यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन । म त एउटा ठूलो संकटबाट बच्नका लागि प्रयास गरिरहेको छु ।”
रुस–युक्रेन युद्धलाई लिएर विश्वभरि नै तनावपूर्ण अवस्था कायम रहेका बेला ट्रम्पको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति थप तातिएको छ ।
Comments