भारतका विभिन्न ठाउँमा पाकिस्तानको ड्रोन आक्रमण, सीमावर्ती क्षेत्रहरुमा ब्ल्याक आउट

Bhugolpark

२६ बैशाख, २०८२,१०:०३

पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् ।


पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । तर भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ ।


पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ ।


नियन्त्रण रेखा एलओसी नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी गरेको भारतीय पक्षको दाबी छ ।


यस्तै भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।


भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ । जम्मू–कश्मीरका जम्मू, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनागमा ब्ल्याक आउट भएको छ ।


यस्तै राजस्थानको बाडमेर, बिकानेर र श्रीगंगानगर तथा पन्जाबको चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोटमा विद्युत आपूर्ति बन्द भएको छ । यस्तै गुजरातको भुज, कच्छ क्षेत्रमा पनि बिजुली छैन ।


भारतले गएको मङ्गलवाररातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।


२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणको बदला लिन भन्दै भारतीय सेनाले पाकिस्तानका ९ नौ ठाउँमा आक्रमण गरेको थियो ।


96 Views

Comments