काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीमाथि शान्तिवार्तामा बाधा पुर्याउने प्रयास गरेको आरोप लगाएका छन्। ट्रम्पको अभिव्यक्ति तब आएको हो जब जेलेन्स्कीले युक्रेनले कहिल्यै पनि क्राइमियामाथिको रुसी कब्जालाई मान्यता नदिने स्पष्ट पारे।
बीबीसीको रिपोर्ट अनुसार, ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्यको प्रयास अन्तिम चरणमा पुगेको बताए। तर, जेलेन्स्कीले अमेरिकी पक्षबाट प्रस्ताव गरिएको शर्त अस्वीकार गरेर द्वन्द्व लम्ब्याउने प्रयास गरेको ट्रम्पको भनाइ छ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेन–रुसबीचको भू-सीमा विवादलाई हालको अवस्थामै स्थिर राख्ने प्रस्तावसहितको शान्ति योजना सार्वजनिक गरेका थिए। सो प्रस्तावअनुसार, दुवै मुलुकले आफ्ना अधिनमा रहेका केही क्षेत्र छोड्नुपर्ने थियो।
यद्यपि, युक्रेनले स्पष्ट रुपमा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएको क्राइमियालाई फिर्ता नगरेसम्म शान्ति सम्भव नहुने अडान लिँदै आएको छ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा, क्राइमियामा रुसी सार्वभौमिकतालाई मान्यता दिने विषयमा गरिएको प्रश्नको जवाफमा ट्रम्पले आफू पक्षपाती नभएको र केवल युद्ध अन्त्य भएको हेर्न चाहेको बताए। “यदि सम्झौता सम्भव हुन्छ भने त्यो राम्रो कुरा हो,” ट्रम्पको भनाइ थियो।
यो प्रकरणले युक्रेन–रुस युद्धको समाधान खोज्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि एक पटक जटिलता थपेको देखिन्छ।
Comments