काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कामप्रति असन्तुष्टि जनाउँदै हजारौं नागरिक सडकमा उत्रिएका छन्। शनिबार देशभर व्यापक रूपमा आयोजना गरिएको यस प्रदर्शनलाई ‘५० प्रदर्शन, ५० राज्य, एक आन्दोलन’ नाम दिइएको छ।
बीबीसीका अनुसार यो आन्दोलन अमेरिकी ‘रेभुलुसनरी वार’ सुरु भएको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष रूपमा आयोजना गरिएको हो। देशका हरेक राज्यमा आयोजित प्रदर्शनमा सहभागीहरू ह्वाइट हाउस, टेस्ला कार डिलरसिप तथा विभिन्न सहरका केन्द्रमा भेला भएका थिए।
प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्नुका साथै एल साल्भाडोरमा गल्तीले पठाइएका किल्मार आब्रेगो गार्सियाको तत्काल फिर्तीको माग समेत गरेका थिए।
अमेरिकामा पछिल्लो समय राजनीतिक चेतना र असन्तुष्टि अभिव्यक्त गर्ने प्रदर्शनहरू क्रमशः बढ्दै गइरहेका छन्। यसै महिनाको सुरुमा पनि ‘ह्यान्ड्स अफ’ आन्दोलनमार्फत हजारौं नागरिक सडकमा उत्रेर आफ्ना माग राखेका थिए।
Comments